Shittalpati
राष्ट्रिय पोशाक दिवस मनाइँदै

पाल्पा, राष्ट्रिय पोशाक दिवस आज विभिन्न कार्यक्रम गरि मनाईँदै छ । राष्ट्रिय पोशाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरूले हरेक वर्ष पौष १७ गते भव्यताका साथ मनाउँदै आई रहेका छन् ।

“मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मूल नारा लिएर वि.सं. २०७० बाट काभ्रेपलान्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको यो दिवस नेपाली पोशाकको संरक्षण र नेपालीपनको गौरव दुबैलाई सगरमाथाको शिखर झैँ अटल राख्न यस दिवसको विशेष महत्व रहेको छ । राष्ट्रिय पोशाक दिवसको सुरुवात गर्नुको मुख्य कारण विदेशी संस्कृतिले नेपाली धर्म,संस्कृति,चाडपर्वलाई समेत नष्ट पार्ने हुनाले यसैको प्रतिकार स्वरूप यो अभियानको सुरुवात भएको हो ।

विगतका विभिन्न क्रान्तिहरूमा नेपालको राष्ट्रिय धरोहर,सम्पदा,चाडपर्वको इतिहास सकिए,विभिन्न जातिका पोशाक,रीतिरिवाज समाप्त भए त्यसै गरी नेपालीहरूको विश्वमा पृथक् र सर्वश्रेष्ठ रूपमा हेरिएको दौरा सुरुवाल,ढाका टोपी,गुन्यू चोली जसलाई नेपालको औपचारिक पोशाकको रूपमा हेरिन्छ । त्यसै तथ्यलाई आत्मसाथ गर्दै नेपालको अन्तर्राष्ट्रिय पहिचानको रूपमा रहेको राष्ट्रिय पोशाक (दौरा सुरुवाल,टोपी,गुन्यू चोली) लाई सरकारले औपचारिक पोशाक घोषणा गर्दै सम्मान दिनुपर्ने यो अभियानको उद्देश्य हो ।

राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले राष्ट्रिय पोसाक संरक्षणको पहल गरियोस् भन्दै विगत १२ वर्ष देखी निरन्तर सम्बन्धित निकायहरूमा पैरवी गर्दै आएका छन्। पछिल्लो समय नेपाली युवाहरुले नेपाली चाडपर्व र मौलिक परम्पराहरु बिर्संदै गएका छन् । पश्चिमा संस्कृतिको अनुसरण गर्दैगर्दा नेपालीपन बिर्संदै जानु विडम्बनाको विषय हो । कुनै पनि संस्कृतिको अनुसरण गर्नु अनुचित होइन । तर, कसैको संस्कृतिप्रति लालायित बन्दै गर्दा आफ्नो पहिचान र संस्कृति पनि कदापि भुल्नुहुँदैन । जनवरी १ लाई अङ्ग्रेजी नयाँ वर्षका रुपमा मनाउने युवापुस्ताले आफ्नो मौलिक संस्कृतिप्रति पनि बेवास्ता गर्नुहुँदैन । नेपालीको पहिचान झल्किने पोसाक र ढाका टोपी लगाउँदा हाम्रो राष्ट्रियतामात्रै झल्किएको हुँदैन, विश्वसामु आफ्नो संस्कृतिको सकारात्मक सन्देशसमेत प्रवाहित भएको हुन्छ । 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update