Shittalpati
आज सामाजिक सद्भावको पर्व ‘पुसे पन्ध्र’ ,  देशभर सार्वजनिक विदा    

पाल्पा, आज ‘पुसे पन्ध्र’ धुमधामका साथ मनाइँदैछ । सामाजिक सद्भावका रुपमा मनाइने यो पर्व विशेष गरी मगर समुदायसँगै अन्य जातिले मनाउने गर्दछन् । 

हरेक वर्ष पुस १५ का दिन विशेषगरी तरुल, सक्खरखण्ड, फर्सी, पिँडालु लगायतका माटोमुनि उम्रिने चिजलाई उसिनेर खाने चलन छ । माटोमुनि उम्रिने पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा स्फूर्ति, तागत बढ्ने भएकाले खाने गरिएको पुराना पुस्ताहरु बताउँछन् ।
पुसे १५ मा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने गरेको पाल्पा तानसेनकी शर्मिला खत्रीलाई अझै सम्झना छ । यो पर्वमा विवाह भएर गएकी छोरीलाई पनि घरमा बोलाई भव्य रूपमा स्वागत सत्कार गर्ने गरिन्छ । लोकसंस्कृतिको मौलिक पहिचान बोकेको पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा पुसे १५ मनाउने गरिन्छ । यो पर्वमा दिनमाभन्दा रातिको समयमा एक ठाउँमा भेला भएर मीठो मसिनो खाँदै कथा तथा दन्त्य कथा सुनाउनुलाई विशेष महत्वका रुपमा लिने गरिएको छ । विशेषगरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहे पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको छ । स्याङ्जाका गोपाल पोखरेलले पहिलेको पुस्ताजस्तो गरी नयाँ पुस्ताले पुसे १५ नमनाएको बताउँछन् ।

पहिले पहिले तिहारमा भैलो खेलेर जम्मा भएको रकमबाट पुस १५ मै पिक्नीक अर्थात् ‘वनभोज’ खाने गरिन्थ्यो । पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत उनको भनाइ छ । पुस १५ मा घरबाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य ‘वनभोज’ जाने र मीठामीठा खानेकुरा खाने चलन पनि विगतदेखि नै चल्दै आएको हो । आजको दिन सबै परिवार एकै ठाउँ बसेर रमाइलो गरिन्छ । यहाँका प्रायः सबै नागरिक घरमा लगाएको र जंगलमा पाइने तरुल खनेर उसिनेर खान्छन् । आज तरुल खानैपर्ने मान्यता रहेकाले पाल्पा, गुल्मी लगायत देशैभरका बजार क्षेत्रमा सोमबार तरुल किन्नेको घुइँचो लागेको थियो । नेपालका केही केही स्थानमा गाउँखाने र दन्त्य कथा सुन्ने तथा सुनाउने मौलिक पर्वका रुपमा ‘पुसे १५’ लाई लिने पनि गरिन्छ । यस दिन राति कथा तथा लोककथा सुन्दै र सुनाउँदै मीठा मसिना परिकार खाएर रातभर जाग्राम बस्ने गरिन्छ ।

लोकसंस्कृतिको मौलिक पहिचान बोकेको पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा पुसे १५ मनाउने गरिन्छ । यो पर्वमा दिनमाभन्दा रातिको समयमा एक ठाउँमा भेला भएर मीठो मसिनो खाँदै कथा तथा दन्त्य कथा सुनाउनुलाई विशेष महत्वका रुपमा लिने गरिएको छ ।  यस्तै आजकै दिन गुरुङ समुदायले ‘तमु ल्होसार’ अर्थात् नयाँ वर्ष पनि मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा समेत दिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update