Shittalpati
‘तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बन्छ’ 

लुम्बिनी,  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने बताएका छन् । लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी ‘न्यूज फेस्टिभल’को आइतबार लुम्बिनीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । “सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बन्छ,”उनले भने, “सम्मेलन र संवादले सीमा क्षेत्र र दुई देशको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ ।” मुख्यमन्त्री आचार्यले महोत्सवले पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे । सञ्चार क्षेत्रबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध कमजोर हुनसक्ने जनाउँदै सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने उनको भनाइ छ । सम्मेलन र संवादले सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।  दुवै देशका सञ्चारकर्मीबीच हुने बहस र छलफलले नेपाल र भारतबीचको सम्बन्धलाई पनि थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्वपूर्ण रहने मुख्यमन्त्री आचार्यले बताए । उनले भने “मिडियाबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध कमजोर हुन सक्छ ।” 

“लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्ने प्रयासमा लुम्बिनी सरकार लागिरहेको छ,” उनले भने । समृद्धि र विकासका लागि न्युज फेस्टिवल कोसेढुंगा बन्न सक्ने उनले बताए । मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनीको पर्यटन, सांस्कृतिक र सामाजिक विकासमा फेस्टिवलको बहसले नयाँ दिशा दिने पनि उनले बताए ।शनिबारबाट सुरु न्युज फेस्टिवलमा भारतका विभिन्न सञ्चारमाध्यमका ४० बढी पत्रकार र नेपालका राष्ट्रिय र मोफसलका सञ्चारमाध्यमका नेतृत्व तहका सञ्चारकर्मीको उपस्थिति रहेको छ । दुई दिनसम्म चल्ने कार्यक्रममा विभिन्न तीन सत्रमा छलफल चल्ने छ । त्यसको निष्कर्षका रूपमा लुम्बिनी घोषणापत्र जारी गर्दै सम्पन्न हुने लुम्बिनी प्रेस कल्बका  अध्यक्ष कमल रायमाझीले बताए ।

फेस्टिवलको पहिलो सेसनमा ‘सीमापार सम्बन्ध : आवश्यकता र सम्भावना’ विषयमा छलफल भएको छ । यो सेसनको सहजकर्ता लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले गरेका थिए । सेसनमा नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले ग्लोबलाइजेसनको अवस्थामा सीमापार सम्बन्ध अति आवश्यक रहेको बताइन् । “दैनिक जीवनसँग जोडिएका सवाल, दुई देशबीच कस्तो नीति बनाउने विषय र समस्या समाधानका लागि पनि मिडियाको भूमिका महत्वपूर्ण हुनेछ” उनले भनिन्, “नेपाल र भारतको पत्रकारिताबीच सकारात्मक सम्बन्ध विकास गर्न आवश्यक छ । दुई देशका विषयमा तथ्यहीन र सतही आरोप र लाञ्छना लगाउने काम बन्द गर्नुपर्छ, यसले दुबै देशका पत्रकार असुरक्षित हुन्छन् ।” कार्यक्रममा लुम्बिनीका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डे, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्य, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूका साथै नेपाल र भारतका विभिन्न क्षेत्रका सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update