Shittalpati
आज ‘क्रिसमस डे’, हर्षोल्लासका साथ मनाइँदै

पाल्पा, आज क्रिश्चियन धर्माबलम्बीहरूको महान पर्व क्रिसमस हर्षोल्लासका साथ मनाइँदैछ । नेपालमा पनि आज क्रिश्चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी  यो पर्व मनाइरहेका छन् ।

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर क्रिश्चियन धर्मालम्बीले क्रिसमस पर्व मनाउँदै आएका छन् ।  सन् ३५० देखि यो पर्व मनाउन सुरु भएको पाइन्छ । यस अवसरमा इसाई धर्मावलम्बीहरु चर्चमा भेला भएर जिसस क्राइस्टको पवित्र आत्माको प्रार्थना गर्छन् । इसाई धर्मगुरु जिसस क्राइस्टले मानव जातिको मुक्तिका लागि आहुति दिएको सम्झनामा क्रिसमस डे मनाउने गरिन्छ । ‘क्रिसमस डे’ को अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीका लागि आज सार्वजनिक बिदा समेत दिएको छ । इसाई धर्मावलम्बीले खुसीयाली, उपहार र शुभकामना साटासाट गरी मनाउने यो पर्वको पूर्वसन्ध्यामा बुधबारदेखि पाल्पाको तानसेनमा रौनक छाएको छ । यहाँका विभिन्न चर्चहरुमा क्रिसमस इभ लक्षित विभिन्न कार्यक्रम समेत आयोजना गरिएका छन् । बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ । क्रिश्चियन धर्मावलम्बीले यस दिन सल्लाको रुख (क्रिसमस ट्री) लाई सजाएमा जीवनभरि हरियो हुने विश्वास गर्ने गरेका छन् । क्रिसमस ट्री जहिल्यै हरियो रुखमा विभिन्न किसिमका हिउँको थुप्रो जस्तो सेतो कपासले सजाइन्छ । क्रिसमस ट्रीमा बत्ती राखेर सजाउने गरिन्छ । यो प्राकृतिक र कृत्रिम दुवैमा सजाउने गरिन्छ । क्रिसमस ट्री सजाउने परम्परा १६ औँ शताब्दीमा लिमोनिया र जर्मनीबाट आएको हो । केही इतिहासकारले क्रिसमसको समयमा सल्लाको रुखमा क्यान्डल, बत्तीले सजावट गरेमा स्वर्गसम्म पुग्ने विश्वास रहेको बताएका छन् । सल्लाको रुखको माथिल्लो भागमा स्वर्गदूत (परी) वा ताराले सजाइन्छ । जसले स्वर्गदूतले होस्ट गरेको अनुभव हुने धारणा पनि छ । डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस मनाउन अघिल्लो दिन राति ‘क्रिसमस इभ’ मनाउने चलन छ । क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन् ।

रातो टोपी लगायतका सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरीरको पादरीले सबैलाई उपहार दिने र खुशी बाँड्ने छन् भन्ने विश्वास छ । सान्टा क्लसले उपहार दिने प्रतिक्षामा आज धेरै केटाकेटीहरु रातिअबेरसम्म सुत्दैनन् । यसका साथै केही ब्यक्तिहरु सान्टा क्लसको भेषमा उपहार र कोसेली बाँड्दै, साँट्दै हिंड्ने गर्छ भने बालबालिका सान्टा क्लसको भेषमा रमाउने गर्छन् । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको पाइन्छ । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीन वटै दिवसका रूपमा मनाउने गरेका हुन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको पास्टरहरु बताउँछन् । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि नेपाल ख्रिष्टियन महासंघले महोत्सवका रूपमा मनाउन थालेको हो ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update