पाल्पा, अन्तराष्ट्रिय पर्वतीय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आह्वानमा हरेक वर्ष डिसेम्वर ११ अर्थात आजकै दिनमा यो दिवस मनाइँंदै आइएको हो ।
जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणप्रति जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा नेपालमा पर्यटनसँग सम्बन्धित संघसंस्था तथा समूहहरुको आयोजनामा विभिनन्न कार्यक्रम आयोजना हुँदैछन् । हरेक वर्ष आजकै दिन (११ डिसेम्बर) मनाइने यो दिवस विश्वसामु यी महत्वपूर्ण तर उपेक्षित क्षेत्रको सम्मान गर्न आह्वान गर्ने दिन पनि हो । पछिल्लो समय जलवायु परिवर्तनका कारण हिउँ पग्लिदा हिमालहरुको अस्तित्व खतरामा परेको आरोहीहरु बताउँछन् । त्यस्तै सरकारले पर्वतारोहीहरुको उचित अनुगमन गर्न नसक्दा हिमालहरु फोहोर बन्दै गएको र पर्यावरणीय प्रदुषण बढ्दै गएको वातावरणविद्हरुको भनाई छ । पृथ्वीको २५ प्रतिशत भू–भाग पर्वतीय क्षेत्रले ओगटेको छ । विश्वको कुल जनसंख्याको करिब २० प्रतिशत मानिस यसै क्षेत्रमा बसोवास गर्छन् । विश्वको सर्वाेच्च शिखर सगरमाथा सहितको चुचुराका कारण चिनिएको नेपालमा हिमालहरु पग्लिदै गएको विषय प्रति सरोकार वालाहरुले चिन्ता ब्यक्त गरेका छन् । पर्वतारोहणका क्रममा बढ्दो फोहोर, हिमाली क्षेत्रमा बढ्दो जनघनत्वले समेत उत्तिकै असर परिरहेको छ । पछिल्लो समय पृथ्वीले बढ्दो तापक्रमको मार झेल्दैछ । विगतमा सेताम्य देखिने हिम शृंखला निरन्तर काला पत्थर बन्दै गइरहेका छन्, हिँउ झर्नुपर्ने ठाउँमा निरन्तर वर्षा भइरहेका छन् र त्यस्ता स्थानमा विभिन्न वनस्पतिहरू देखिन थालेका छन् । यो विषयलाई यस वर्षको पर्वतीय दिवसले समेटेको छ । नेपाल विश्व पर्वतीय दिवसको एउटा मूल केन्द्रबिन्दु भएको विज्ञहरुको भनाइ छ । विश्वमै स्वच्छ पानी पाउने मुख्य हिमालहरू नेपालमा नै बढी हुनुले नेपालको हिमाली क्षेत्रको विषयमा विश्व समुदायले चासो व्यक्त गर्ने गरेको छ । विश्वमा बदलिँदो मौसमको रंग, तापक्रम तथा समुल प्राणी जगतको जीवनचक्रको मुख्य केन्द्रका रूपमा पर्वतीय क्षेत्रलाई लिइएको छ ।


