पााल्पा, जिल्लाका स्वास्थ्य स्वंसेविकाहरुले आफूहरूले बर्षौँ देखि निशूल्क रुपमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको भएपनि राज्यले आफूहरू माथि ठूलो अन्याय गरेको गुनासो गर्ने गरेका छन् । उनीहरूले घरदैलो कार्यक्रम गर्दै सुरक्षित मातृत्व, खोप तथा पोषण कार्यक्रम र नवजात शिशु सरसफाइमा जनचेतना फैलाउने काम गर्दै आए पनि आफूले गरेको कामको कुनै पनि मूल्याङ्कन नभएकोमा चिन्ता व्यक्त गर्ने गरेका हुन् ।
तानसेनकी मनकला सारुले महिला स्वयंसेविकाको काम गर्न थालेको २० बर्ष भयो । उनले रातदिन नभनेर गर्भवतीदेखि ५ वर्षमुनिका शिशुको स्वास्थ्यबारे जिम्मेवारपूर्वक काम गरिरहेकी छन् । आफूहरूको जिन्दगी गाउँघरकै सेवामै बितेको सारुको भनाई छ । महिला स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दा खाजा खर्चसमेत नपाएको उनको गुनासो छ । “हामीले दुःख मात्र गरेका छौँ, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ,” उनले भनिन् । सुविधाका नाममा बैठक भत्ता रु चार सय ५०, वार्षिक पोशाक भत्ता रु १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक रु चार सय र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उनले बताइन् ।जिल्लाको रम्भा गाउँपालिका–३ पिपलडाँडाकी लिलामाया रानाले पनि सुत्केरी हुँदा स्वास्थ्य संस्थामा जान सल्लाह दिने, आवश्यक परे लैजाने र घण्टौं कुरेर बस्ने गरे पनि कामअनुसारको सुविधा र सम्मान नभएको उनको गुनासो छ । “गर्भवतीलाई नियमित चेकजाँच गर्न लैजान्छौं । आइरन चक्की खुवाउँछौं । बच्चालाई पोलियो खुवाउने गर्छौं । आफ्नो टोलका स्वास्थ्यसम्बन्धी अधिकांश कामको जिम्मा हामीहरूले नै लिएका छौं,” उनले भनिन्, “रात दिन घरपरिवार छाडेर सेवा गरिरहेका छौं ।” कामअनुसारको सम्मान र सुविधा नपाएको उनले बताइन् । “हामीहरूलाई खासै सुविधा मिल्दैन,”उनले भनिन्, “आफ्नो परिवार धान्नै गाह्रो पो हुन्छ ।’’ पोशाक खर्च भनेर वार्षिक १० हजार रुपैयाँ मात्र सरकारले दिने गरेको उनको भनाइ छ ।
माथागढी गाउँपालिका रुप्सेकी यमकला बस्यालको गुनासो पनि उस्तै छ । बस्याल विगत १० वर्षदेदिख महिला स्वयंसेविकाको जिम्मेवारीमै छिन् । उनले आफ्नो टोलका गर्भवती महिला, शिशु र जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्ने र उनीहरुको आश्यक उपचार गर्न सम्बन्धित स्वास्थ्य संस्थामा जान सल्लाह दिने, गर्भवतीलाई नियमित चेकजाँच गर्ने, आइरन चक्की खुवाउँने, बच्चालाई पोलियो खुवाउने यी सबै काम उनको हो । तर आफ्नो कामअनुसारको दाम नभएको पीडा उनमा पनि छ । “समाजकै लागि जीवन दिएका छौं । सरकारले हामीहरूलाई पनि केही सुविधा र सहयोग गरेको भए राम्रो हुने थियो,” उनले भनिन्, “हाम्रो पनि घरपरिवार छ । बिहान उठ्नासाथ काममा जान्छौं तर सबै सेवा निःशुल्क दिन्छौं । आफ्नो परिवारको पनि चिन्ता छ ।”यी प्रतिनिधिमूलक पात्र हुन् । जिल्लाका स्वास्थ्य स्वंसेविकाहरुले आफूहरूले बर्षौँ देखि निशूल्क रुपमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको भएपनि राज्यले आफूहरू माथि ठूलो अन्याय गरेको गुनासो गर्छन् । उनीहरूले आफूहरूलाई पनि मासिक सेवा सुविधा दिइनु पर्ने अन्यथा खाजा, तथा यातायात खर्चको व्यवस्था गरिनु पर्ने बताएका छन् । आफूहरूले यी माग राख्न थालेको लामो समय भइसक्दा समेत सरकारले कुनै चासो नदिएको भन्दै राज्यले सहुलियत प्रदान गर्नै नचाहेको गुनासो गरेका छन् ।


