पाल्पा, निर्वाचन आयोगमा चुनाव घोषणापछि ७ दल खारेज भएका छन् भने ७ दल दर्ता भएका छन् । आयोगले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार थप नयाँ ७ दल दर्ता भएकोमा यस अघिका ७ वटा दल घारेज भएका हुन् ।
एउटा अदालतबाट र ६ वटा सम्बन्धित दलका पदाधिकारीले दिएको निवेदनका आधारमा आयोगले खारेजीको निर्णय लिएको जनाएको छ । योसँगै आयोगमा हालसम्म १२२ वटा राजनीतिक दलहरू दर्ता भएका छन् । आयोगले फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरेको थियो । सोही अनुसार आइतबार दल दर्ताका लागि अन्तिम दिन हो । निर्वाचन आयोगले १ सय २२ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएको र २८ वटा दर्ताको क्रममा रहेको जानकारी दिएको छ ।
दर्ताका क्रममा रहेका दलका हकमा कानुनबमोजम काजगपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढेको छ । कागजात लिएर आयोगमा पुग्नेलाई अध्ययन र सनाखत पछि प्रमाणपत्र दिनेगरी आयोगले काम गरिरहेको छ ।


