Shittalpati
तानसेनमा एमाले पाल्पाको  शक्ति प्रदर्शन, संसद पुनःस्थापनाको मागसहित विरोधसभा

पाल्पा, नेकपा एमाले पाल्पाले संसद पुनःस्थापनाको मागसहित  तानसेनमा विशाल विरोध प्रदर्शन गरेको छ । हजारौ जनताको सहभागितामा सम्पन्न विरोध  प्रदर्शनमा  संसद पुनः स्थापना मार्फत अहिले देशमा देखिएको संवैधानिक संकट समाधान गर्न सकिने एमाले वक्ताहरुले जोड दिएका छन् ।

वर्तमान सरकार संविधान विपरित निर्माण भएकाले संसद पुनः स्थापना मार्फत, जेनजी सहितको सहभागितामा सर्वदलिय, सर्वपक्षिय सरकार निर्माण गर्ने, सर्वदलिय सरकारले जेनजीको मागहरु सम्बोधन गर्न संविधान संसोधन गर्ने र ६ महिना भित्र निर्वाचन गरी जनप्रतिनिधीलाई स्थायी सरकार निर्माण गर्ने एमालेको बटम लाइन भएको एमाले पोलिटिव्युरो सदस्य ठाकुर गैरेले बताए । जेनजी अगुवा बाट आफ्ना मागहरु सम्बोधन नभएकोले बर्तमान सरकारले चुनाव गर्न नसक्ने बताएकोले एमाले र जेनजीका मागहरु एउटै कित्तामा आएको एमाले पोलिटिव्युरो सदस्य गैरेले जोड दिए ।

भदौ २३ र २४ गतेको आन्दोलन र लुटपाट आगजनीको विषयमा  बर्तमान छानविन समितिले निष्पक्ष काम गर्न नसक्ने देखिएकोले छुट्टाछुट्टै निष्पक्ष छानविन आयोग गठन गरी दोषको आधारमा कानुनी कारवाही गर्नुपर्ने एमाले बक्ताहरुले बताए ।

 विरोधसभालाई एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, अनेरास्ववियुका जिल्ला अध्यक्ष सन्देश ढकाल, जेनजी महिला नेतृ इन्दु गाहा, एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती मगर र सचिव रामजी पोखरेल सहितका नेताहरूले सम्बोधन गरेका थिए । विरोधसभामा नेता तथा कार्यकर्ताहरुले  एमालेको आन्दोलन ‘संविधान रक्षा र जनताको पक्षको आन्दोलन’ भएको दाबी गरे । गाउँ–गाउँबाट आएका हजारौ कार्यकर्ताहरु तानसेनको टुँडिखेलबाट  विभिन्न किसिमका नारा जुलुस गर्दै नगर परिक्रमा गरी पुनः टुँडिखेलमै पुगी विरोधसभामा परिणत भएको थियो । विरोधसभामा  जिल्लाको ८१ वटै वडाबाट १० हजार बढी जनताको सहभागीता रहेको एमाले पाल्पाले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update