पाल्पा, जिल्लाको रामपुर नगरपालिकामा पालिकास्तरीय द्रुत प्रतिकार्य सम्बन्धी पैरवी कार्यक्रम गरिएको छ । विश्व स्वास्थ्य संगठन नेपालको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोलीका लागि पैरवी कार्यक्रम गरिएको हो । कार्यक्रममा नगरपालिका भित्र सम्भावित स्वास्थ्यजन्य विपद र यसको न्यूनीकरण तथा व्यवस्थापनका विषयमा अभिमुखिकरण प्रदान गरिएको थियो । स्वास्थ्यजन्य विपदको समयमा द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोलीको भूमिका , काम कर्तव्य र अधिकारका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख तथा कार्यवाहक नगर प्रमुख बाल कुमारी थापाले नगरपालिका भित्र हुन सक्ने सम्भावित विपद्लाई न्यूनीकरण गर्न र यसको प्रकोप फैलन नदिन सबै सचेत भई एक भएर लाग्नु पर्ने बताइन् । उनले पछिल्लो केही वर्षयता रामपुरमा कालाजार रोगका विरामीको संख्या बढ्दो रहेकाले यसबाट बच्नका लागि सचेतनासँगै अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको औँल्याइन् । साथै कालाजार रोगको शंका लाग्ने विरामी फेला परेमा तत्काल जाँच गरि उपचारका लागि सिफारिस गर्न स्वास्थ्यकर्मीहरुलाई उनले आग्रह समेत गरिन् । उपप्रमुख थापाले रामपुर नगरपालिकालाई कालाजार रोगमुक्त गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले विगतको समयमा भएका स्वास्थ्यजन्य विपदको अनुभवबाट सिकेर भविष्यमा हुन सक्ने विपद्लाई रोक्न सचेतना सहित सबै तयारी अवस्थामा रहनु पर्ने बताए । उनले हरेक विपद् मानविय स्वास्थ्यसंँग जोडिने भन्दै सर्वसाधारण जनतालाई सचेत बनाउन विभिन्न शिविर तथा अभियान सञ्चालन गर्न सके महामारी र विपदबाट बच्न सकिने बताए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त कार्यालय प्रमुख टुक प्रसाद पोखरेलले स्वास्थ्यजन्य विपद नियन्त्रण र व्यवस्थापनका लागि समिति र टोली दुवैलाई सक्रिय बनाउनका लागि पैरवी कार्यक्रमको आयोजना गरिएको बताए । उनले सरुवा रोगबाट निम्तिने विपद न्यूनीकरण हुँदै आए पनि नसर्ने रोग नियन्त्रण गर्ने चुनौती रहेको उल्लेख गरे । स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट मधुसुधन भट्टराईले अन्य पालिकाको तुलनामा रामपुर नगरपालिकामा कालाजार रोगको विरामी धेरै रहेकोले यसको नियन्त्रण गर्नु पर्ने बताए । उनले पालिकास्तरमा रहेको समिति र टोलीको काम कर्तव्य र अधिकारसँगै कानुनी व्यवस्थाको बारेमा जानकारी दिए ।
विश्व स्वास्थ्य संगठन नेपालका फिल्ड मेडिकल अफिसर डाक्टर गौरव डंगोलले रामपुरमा डेंगी र कालाजार रोग महामारीको जोखिम रहेको भन्दै सचेत हुन आवश्यक रहेको बताए । साथै विपदको यकीन तथ्याङ्क प्रमाणित गरि स्वास्थ्यजन्य विपदको नियन्त्रण र व्यवस्थापनमा तत्काल लाग्न द्रुत प्रतिकार्य समिति र टोलीलाई उनले आग्रह समेत गरे । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले हरेक विपदको समयमा मानविय सहायताका लागि स्वास्थ्यकर्मीको नै मुख्य भूमिका रहने भएकाले सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिए । विश्व स्वस्थ्य संगठन नेपालका फिल्ड मेडिकल अफिसर डाक्टर गौरव डंगोल र जिल्ला स्वस्थ्य कार्यालय पाल्पाका मधुसुधन भट्टराईले कार्यक्रमको सहजिकरण गरेका थिए ।


-1762576335.jpg)