Shittalpati
सभामा बोल्दैगर्दा ढलेका मजदुर नेता गौतमको निधन

भैरहवा (रुपन्देही), उद्योगमा विद्युत् कटौती भएको बिरोधमा मन्तव्य राख्दै गर्दा ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको विहीबार मृत्यु भएको हो ।

सम्बोधनका क्रममा विद्युत महशुल भुक्तानी नगरेको निहुँमा लाइन काटिदिँदा २५ हजार श्रमिकको रोजगारी गुमेको तथा उद्योगी व्यवसाय धरापमा परेको भन्दै उनी आक्रोसित देखिन्थे । ‘श्रमिकलाई गुमाउन नचाहेको’ बताउँदै गर्दा उनको बोली लरबरिएको सुनिन्थ्यो भने ‘अतः यो कारणले’ भन्दै गर्दा उनी ढलेको र तुरुन्तै अस्पताल पुर्याउँदा उनको निधन भइसकेको भन्ने दुःखद समाचर सुन्न परेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए ।

सो कार्यक्रममा करिब तीन मिनेट मात्र मन्तव्य राख्न भ्याएका उपाध्यक्ष गौतम अकस्मात ढलेपछि करिब १५ मिनेटभित्र नजिकको अस्पताल पुर्याइएपनि उनको निधन भइसकेको अस्पताल प्रशासनले जनाएको छ ।

 बुटवल ज्योतिनगरका ६२ वर्षीय गौतमले मुलुकको ट्रेड युनियन आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएका थिए । यस क्षेत्रका १३ वटा उद्योगमा विद्युत् कटौती भएको विरोधमा आयोजित उक्त कार्यक्रममा पनि उनले श्रमिक तथा मजदुरकै पक्षमा बोलेको सङ्घका अध्यक्ष आचार्यले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update