तानसेन (पाल्पा), यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँतिहार मनाए । विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि यस वर्ष घरमा उत्पादित खुर्सानी बिक्रीबाट मनग्य आम्दानी भएको बताउँदै सोहीबाट दसैँतिहार मनाइएको उनले उल्लेख गरे ।
“पहिलेपहिले खर्चको जोहो गर्न कठिन थियो, तर अहिले खुर्सानी बेचेर सहज भयो, हामीलाई चाडपर्व मनाउन अरूसँग पैसा सापटी माग्नु परेन”, उनले भने । यस वर्ष दसैँअगाडि खुर्सानी बेचेर रु चार लाख आम्दानी भएको छहरीले जानकारी दिए । अन्नबाली लगाउँदा वन्यजन्तुबाट जोगाउन कठिन भएपछि अहिले अकबरे खुर्सानीखेती थालेको उनले बताए । अहिले यहाँ अधिकांश साना किसानको जीविकोपार्जनको स्रोत खुर्सानीखेती भएको उनको भनाइ छ । स्थानीय सीता खाम्चाले पनि यस वर्ष चाडपर्व मनाउन ऋण खोज्न नपरेको बताइन् । दसैँअगाडि अकबरे खुर्सानी बेचेर आएको आम्दनीबाट पर्वको जोहो भएको उनको भनाइ छ । उनले भनिन्, “विगतका वर्षमा दसैँतिहार नआए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । आम्दानीको कुनै स्रोत थिएन, ऋण मागेर छोराछोरीलाई खुसी बनाउनुपर्ने बाध्यता थियो । अहिले खुर्सानीखेती गर्न थालेपछि सहज भएको छ । हालसम्म खुर्सानी बेचेर चार लाखभन्दा बढी आम्दानी भएको छ ।” छहरी र खाम्चालाई मात्र हैन यहाँका अधिकांश साना किसानले अकबरे खुर्सानी बेचेर मनग्य आम्दानी गर्नुका साथै पर्वको जोहो गरेका छन् । स्थानीय सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायत निकायले यहाँका कृषकलाई खुर्सानीखेतीका लागि सहयोग गर्न थालेपछि व्यावसायिक रूपमा यसतर्फ किसानको आकर्षण बढेको गाउँपालिकाकी कृषि शाखा प्रमुख प्रज्ञा लामटाङ्गेले बताइन् । उत्पादित वस्तु बजारीकरणका लागि स्थानीय सरकारले समन्वय गरिदिन थालेपछि अहिले यहाँ खुर्सानीखेती नभएको घर छैनन् । गाउँबस्तीका खेतीयोग्य जमिनमा दिउँसोको समय बाँदर, मृर्ग, हरिण तथा राति दुम्सी, बदेललगायत वन्यजन्तुले सताउन थालेपछि किसानले वैकल्पिक रूपमा व्यावसायिक खुर्सानीखेती गर्न थालेका उनले बताइन् । घरायसी प्रयोजनका लागि मात्र दुई–चार बोट लगाएका कृषकलाई स्थानीय सरकारले खुर्सानीखेती गर्न प्रेरित गर्न थालेपछि व्यावसायिक उत्पादन हुन थालेको किसानको भनाइ छ । पालिकाले किसानलाई आर्थिक रूपले बलियो बनाउँदै आत्मनिर्भर बनाउने तथा वैदेशिक रोजगारीलाई निरुत्साहित गराउने उद्देश्यले अभियानका रूपमा व्यावसायिकखेतीतर्फ आकर्षित गर्न थालेको कृषि शाखा प्रमुख लामटेङ्गेले उल्लेख गरिन् । उनका अनुसार दसैँअघि खुर्सानी बिक्रीबाट गाउँपालिकाभित्र चार करोडभन्दा बढी रकम भित्रिएको छ ।
यहाँका कृषकद्वारा उत्पादित खुर्सानी सहकारीमार्फत बजारीकरण हुँदै आएको छ । कृषिमा केही हुँदैन भन्ने भाष्य विकसित हुँदै गएपछि पछिल्लो समय वैदेशिक रोजगारी प्रमुख गन्तव्य बन्दै गएको थियो । वैदेशिक रोजगारीको विकल्पमा अकबरे खुर्सानी वा नगदेखेती बनाउनका लागि उत्पन्न चुनौतीको सामना गर्दै चार करोडभन्दा बढी लगानी गरेर सुरुआत गरिएको खुर्सानीखेतीले आफ्नो सपना सार्थक बनाएको गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जिसीले बताए ।



