Shittalpati
हामी समाज रुपान्तरणको अभियानमा छौं : सांसद राना 

पाल्पा, लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले समाज रुपान्तरण अहिलेको आवश्यकता रहेको भन्दै आफुहरु सोही अभियानमा लागेको बताएका छन् । शुक्रबार क्रियटिभ डेमोक्रेटिभ इभेन्ट म्यानेजमेन्ट सामाजिक संस्थाले आयोजना गरेको औपचारिक कार्यक्रमलाई तानसेनमा सम्बोधन गर्दै उनले आफुहरु समाज रुपान्तरणमा लागेको बताएका हुन् ।

संस्थाका संरक्षक समेत रहेका रानाले विकास र निर्माणका साथै आम जनसमुदायमा परेका समस्याको पहिचान गरी समाधान गर्न, समाजमा देखिएको व्याप्त अनियमितताको अन्त्य गरी समाजलाई रुपान्तरण गर्ने अभियानका रुपमा संस्था स्थापना गरेर अगाडि बढेको स्पष्ट पारे । संस्थाका अध्यक्ष अध्यक्ष अजयमान कर्माचार्यले संस्थाले विभिन्न खालका इभेन्टको व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता दिनुका साथै हरेक किसिमका अनियमिततामा निरानी गर्ने, समाजमा मित्रताभावको प्रवद्र्धनमा सहयोगी बन्ने उद्देश्यका संस्था स्थापना भएको बताए ।

संस्थाका सचिव अर्जुन कार्कीले संस्था स्थापनाको विषयमा संक्षिप्त जानकारी दिदै संस्थाले हालसम्म गरेका कामको बारेका जानकारी गराए । संस्थाका उपाध्यक्ष राजु महर्जनले संस्था स्थापना गर्दा पाल्पा र आसपासका क्षेत्रमा हुने सामाजिक गतिविधिलाई नियालेर आम सर्वसाधारणका जनचासो र समस्याका विषयमा नजिकबाट निगरानी गर्ने कार्य शुरु गरेको बताए । 

संस्थाको विधान मसौदा समितिका संयोजक राज कार्कीले संस्थाको विधान निर्माण भएको र अब निकट भविष्यमै जिल्ला प्रशासन कार्यालय पाल्पाबाट सामाजिक संस्था दर्ता गरी नयाँ सोंचका साथ अगाडि बढ्ने योजना रहेको उल्लेख गरे ।शिक्षासेवी लक्ष्मण बस्यालले कार्यक्रम माथि प्रकाश पारेका थिए । कार्यक्रममा युवा, स्थानीय व्यवसायी, प्राध्यापक, शिक्षक र समाजका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । संस्थाले सार्वजनिक रुपमा औपचरिक कायक्रम गरेर आफ्ना भावी योजना समेत सार्वजनिक गरेको छ । 


 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update