Shittalpati
काँग्रेस पाल्पामा ९४ प्रतिशत विशेष महाधिवेशनको पक्षमा

पाल्पा, पाल्पा काँग्रेसका ९४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् । उनीहरुले अहिले पार्टी यथास्थितिमा सञ्चालन हुन नसक्ने भन्दै विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन् ।

पार्टी जिल्ला सचिवहरु सन्तोष थापा र सुनिता अधिकारिका अनुसार  ५२ जना महाधिवेशन प्रतिनिधिमध्ये ४९ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् । “५२ जनामध्ये ४९ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गर्नुभएको छ, हामीले यो हस्ताक्षर सम्बन्धित ठाउँमा बुझाइसकेका छौं,” उनिहरुले भने, “नियमित महाधिवेशन भए राम्रो हुन्छ । यदि नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन गरिहाल्नुपर्छ भन्ने यहाँका महाधिवेशन प्रतिनिधिहरुको माग हो ।”

पार्टी यथास्थितिमा निर्वाचनमा जाँदा पार्टीले क्षति व्यहोर्नु पर्ने विषयलाई मध्यनजर गरी विशेष अधिवेशनको माग गरिएको पार्टी सचिव तथा महाधिवेशन प्रतिनिधि थापाले बताए ।

भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन पश्चात सिङ्गो देश, राजनीतिक, सामाजिक, आर्थिक ट्रमा (आघात) बाट गुज्रिन पुगेको  भन्दै त्यसलाई निकास दिन काँग्रेसमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको प्रतिनिधिहरुको भनाई छ ।  जेनजी आन्दोलनको उत्कर्षमा अन्तरिम सरकार गठन भएर संसद विघटन गरिएको छ अर्कोतर्फ आन्दोलनका क्रममा भएका ध्वंसात्मक गतिविधिको छानविन गर्ने र अवाञ्छित कार्य गर्नेलाई कानुनको दायरामा ल्याउनुपर्ने र संविधान जोगाउनुपर्ने अहिले आवश्यकता भएकाले त्यसको गुरुत्तर दायित्व काँग्रेसको  काँधमा आएकाले विशेष महाधिवेशनमार्फत नेतृत्व चयन जरुरी रहेको अर्को पाटी सचिव  अधिकारिले बताईन । उनका अनुसार अहिलेको अवस्थालाई मध्यनजर गरी समसामयिक परिस्थिति, नीति, विधान र संरचनात्मक परिर्वतनसहित नेतृत्व लगायतको विषयमा विशेष निर्णयको अपरिहार्यता रहेको भन्दै विशेष महाधिवेशन आह्वान गर्न हस्ताक्षरमार्फत माग गरिएको हो ।

 पाल्पामा कांग्रेसको १४ औं जिल्ला अधिवेशनमा जिल्लाका दुई निर्वाचन क्षेत्रमा कुल ५३ जना महाधिवेशन प्रतिनिधि रहेकोमा १ जना प्रतिनिधिले राजीनामा दिएका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा कायम रहेका २५ महाधिवेशन प्रतिनिधिमध्ये २३ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् । यहाँका दुई जनाले भने सहमति जनाएका छैनन् । त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा कायम रहेका २७ महाधिवेशन प्रतिनिधिमध्ये २६ जनाले हस्ताक्षर गरेका छन् । यहाँ भने एक जनाले सहमति जनाएका छैनन् ।

 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update