
गुल्मी, जेनजी आन्दोलनका कारण प्रभावित बनेको यहाँको जनजीवन यतिबेला सामान्य बनेको छ । जिल्लामा आजबिहानदेखि यातायात, शिक्षण संस्थ, उद्योग तथा व्यापार व्यावसाय सबै सञ्चालन भएका छन् ।
सदरमुकाम तम्घासलगायत जिल्लाका मुख्य बजार क्षेत्रमा मानिसहरु निर्बाध रुपमा आफ्नो नियमित काममा निस्केका छन् । जिल्लाबाट पाल्पा र बुटवलसम्म आवतजावत गर्ने सवारीसाधन सञ्चालनमा आएका छन् । सवारी साधनहरु सञ्चालन भएसँगै यात्रुको चहलपहल समेत बढेको छ । सरकारी कामकाजका लागि सदरमुकाम तम्घासस्थित जिल्ला प्रशासन कार्यालय, अस्पताल, मालपोत, नापीलगायतका कार्यालयमा बिहानदेखि सेवाग्राहीहरुको चाप बढेको छ । गुल्मी शान्त जिल्ला भएका कारण गुल्मीमा कर्फ्यूसमेत लगाउन नपरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताए । उनले सबैको संयमितता र धैर्यताका कारण जिल्ला अप्रिय घटना हुनबाट जोगिन सफल बनेको बता ए । जिल्लामा संस्थागत विद्यालय आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएका छन् । उनीहरुले शनिबार पनि विद्यालय सञ्चालन गर्ने जनाएका छन् । सामुदायिक विद्यालय पनि आंशिक रुपमा सञ्चालनमा आएका छन् । उनीहरुले शुक्रबार एक दिनका लागि मात्र विद्यार्थीलाई बोलाएर दुःख दिनुभन्दा आइतबारदेखि पठनपाठन नियमित गर्ने जनाएका छन् ।
नेपाली सेनाले पनि सदरमुकाम क्षेत्रमा गस्तीलाई कम गर्दै लगेको छ । मानिस चोकचोक र चिया पसलमा जम्मा भएर वर्तमान राजनीतिक अवस्थाका बारेमा चर्चा परिचर्चा र विमर्श गर्न थालेका छन् । वित्तीय संस्था पनि आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएका छन् । जिल्लाको जनजीवन पुरानै लयमा फर्कन थालेको छ । जेनजी आन्दोलनका कारण जिल्लामा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा क्षति पुगे पनि अन्य व्यक्तिगत र सरकारी संरचना भने क्षति हुनबाट जोगिएको छ ।