
काठमाडौँ, बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर पत्रकारसहित दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेको छ । बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङ गरिरहेका बेला प्रहरीले चलाएको गोली उनीहरुलाई लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो ।
संसद् घेराउ गर्नका लागि जेन जी प्रदर्शनकारी पुगेपछि र ढुंगामुढा गरिएपछि काठमाडौं जिल्ला प्रशासनले उक्त क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । कफ्र्यु आदेश जारी भएसँगै बानेश्वरमा सेना परिचालन गरिएको हो । जिल्ला प्रशासन कार्यालयले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कफ्र्यु जारी गरिसकेको छ । त्यस्तै राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कफ्र्यु लगाएको छ । शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कफ्र्यु थप गरेको हो ।
सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा ‘जेन–जी’ (सन् १९९७–सन् २०१२ सम्म जन्मिएको पुस्ता) को विरोध डिजिटल हुँदै सडकसम्म पुगेको छ । काठमाडौँसहित देशका मुख्य सहरमा उनीहरुले प्रदर्शन गरिरहेका छन् ।