
अर्घाखाँची, पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे–सन्धिखर्क सडक विस्तार तथा स्तरोन्नति गरेपछि सुपादेउराली पुग्ने पर्यटक लाभान्वित भएका छन् । साँघुरो खाल्टाखुल्टीसहितको पुरानो र जीर्ण बनेको गोरुसिङ्गे–सन्धिखर्क खण्डलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गर्ने काम गरेपछि आजभोलि यात्रा सहज भएको हो ।
गोरुसिङ्गेबाट सदरमुकाम सन्धिखर्कसम्म करिब ६८ किलोमिटर सडक स्तरोन्नति गरिएको छ । केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर चौडाइमा सडक फराकिलो बनाइएको सडक डिभिजन कार्यालय शिवपुरका डिभिजन प्रमुख एवं इञ्जिनीयर सविन कोइरालाले बताए । उनका अनुसार गोरुसिङ्गेबाट सन्धिखर्कसम्म ६७ दशमलव पाँच किमी सडक कालोपत्र गरिएको छ ।
पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिङ्गे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्रगतिमा अघि बढेको थियो । गत आर्थिक वर्षमा पहिरो रोकथाम तथा स्तरोन्नतिमा रु एक करोड, मर्मतमा एक करोड ५० लाख, सडक सुरक्षामा ५५ लाख, सडकको अत्यधिक मर्मतमा दुई करोड रकम खर्च भएको प्रमुख कोइरालाले जानकारी दिए । वर्षामा आउने पहिरोले सडकअवरुद्ध हुने भएकाले नियमित सञ्चालनका लागि दुई वटा पहिरो पन्छ्याउन प्रयोग गरिने उपकरण तयारी अवस्थामा राखिएको छ । ठाँडामा जेसिभी र नरपानीमा लोडर तयारी अवस्थामा राखिएको उनले बताए ।
गोरुसिङ्गे–सन्धिखर्क खण्डअन्तर्गत शितगङ्गा नगरपालिकाको बसेरीको जङ्गल, अमराई, रिब्दी, सितापुर तथा सन्धिखर्क नगरपालिकाको नरपानीबाट फुद्बाङ्गसम्मको सडकमा पहिरोको उच्च जोखिममा रहेका डिभिजन प्रमुख कोइरालाले उल्लेख गरे । उनका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ मा सडक मर्मत तथा स्तरोन्नतिका लागि आठ करोड ४० लाख बजेट प्राप्त भएको छ । यो खण्ड स्तरोन्नति गरिएपछि विशेष गरी शक्तिपीठका रूपमा रहेको सुपादेउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाई सहज भएको कोइरालाको भनाइ छ । अवरोधबिना यात्रा गर्न पाएपछि मन्दिर दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित भएका उनले बताए । “यसअघि सुपादेउराली मन्दिरमा पुगेका जो कोहीले चट्टानी भिरमा रहेको साँघुरो र डरलाग्दो सडक सम्झन्थे । त्यही चट्टानी डरलाग्दो भिरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि मन्दिर आउने धार्मिक पर्यटकलाई सहजता भएको छ”, उनले भने ।
उक्त खण्डमा कडा चट्टान भएकाले नयाँ प्रविधि ‘रक एञ्चोज’ प्रयोगमार्फत ड्रिल गरेर आरसिसी ढलान गरी सडक विस्तार गरिएको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख कोइरालाले जानकारी दिए । यसअघि लाहुरेबजारबाट सुपा मन्दिरसम्म सडकको चौडाइ चार दशमलव पाँच मिटर हुँदा यातायात आवागमनमा कठिनाइ हुँदै आएको थियो । सडक डिभिजन शिवपुरले सडक स्तरोन्नति गरी नौ मिटर चौडाइको बनाएको हो । जिल्ला सदरमुकाम जोड्ने पुरानो र महत्त्वपूर्ण मार्गका रूपमा रहेको गोरुसिङ्गे–सन्धिखर्क खण्डको लाहुरेबजारबाट सुपा मन्दिरसम्म करिब तीन सय मिटर कडा चट्टान र भिरालोका कारण सात्रा सङ्घर्षपूर्ण बनेको थियो । सडक डिभिजन कार्यालय शिवपुरबाट नयाँ प्रविधिको प्रयोग गरी वाल निर्माण गरिएको प्रमुख कोइरालाले उल्लेख गरे ।
नेपालको प्रसिद्ध धार्मिकस्थल सुपादेउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि गर्न तथा सुपादेउराली आसपासका पर्यटकीय गन्तव्य नरपानीको डाँडाको प्रचारप्रसार हुने अपेक्षा लिइएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष हरि खनालले बताए । “नरपानीडाँडा चिसो हावा र चिसो पानीले प्रशिद्ध छ । यहाँबाट मनमोहक दृश्यहरूसँगै हिमाल देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या पनि पछिल्लो समय वृद्धि हुँदै गएको छ”, उनले भने । मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, गुल्मी, रुपन्देहीलगायत जिल्लाबाट पर्यटक आउने जनाउँदै भारतको उत्तर प्रदेश, विहारबाट पनि धार्मिक पर्यटक यहाँ आउने गरेका सन्धिखर्क–७ का वडाध्यक्ष चुराबहादुर केसीले बताए । यहाँ आएका धार्मिक पर्यटकलाई खाँचीकोट हुँदै, एसियाकै सबैभन्दा ठूलो भगवती देवीको मूर्ति रहेको अर्घा भगवती मन्दिर र अर्घा दरबार क्षेत्रसम्म पु¥याउने योजनासहित गरपालिकाले काम अगाडि बढाएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । सुपादेउरालीमा आएका भक्तजनका लागि लक्षित गरेर भौतिक संरचना निर्माण गर्न थालिएको उनले जानकारी दिए । सुपादेउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास रहिआएको मन्दिर संरक्षण समितिका उपाध्यक्ष खनालले बताए । कडा चट्टानकाबीच निर्माण भएको सडक र सोही सडकको छेउमा मन्दिर छ । यहाँ आएर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा उच्च पदमा पुगेका व्यक्तिलेसमेत दर्शन गर्छन् । कुनै समस्या आएकामा सुपादेउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास रहिआएको छ । सोही कारणले यहाँ पाठी, बोका, भाकल गरी बलि चढाउने गरिन्छ ।