पाल्पा, आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवासँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ । नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । सरकारी स्तरमा परिषद्को अगुवाइमा विसं २०७३ देखि मनाउन थालिएको हो । सरकारले विसं २०७२ मा युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसंख्या ४२ दशमलव ५६ प्रतिशत अर्थात एक करोड २४ लाख १२ हजार १७३ रहेको छ । जनसांख्यिक हिसाबले युवाको जनसंख्या धेरै रहेको छ । तर, सरकारले ल्याएका युवा लक्षित कार्यक्रम प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन सकेको छैन् । स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशीन बाध्य छन् । युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् । युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि विसं २०६५ मा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको छ ।


