
तानसेन (पाल्पा), तानसेनका ७५ वर्षीय नरेशचन्द्र घिमिरे जनै बाट्ने संस्कृति हराउँदै गएकामा चिन्तित छन् । जनैको महत्व युवापुस्ताले नबुझ्दा संस्कृति सड्ढटमा पर्दै गएको उनको भनाइ छ ।
घिमिरेले भने, “हामीले जनै आफैँ बाटेर सबैको घर–घरमा पुर्याउँन्थ्यौँ, अहिले त्यस्तो छैन । बरु बाहिरबाट ल्याएर लगाउन अहिलेको पुस्ता तयार छन्, पुरानो संस्कृति जोगाउन नयाँ पुस्ता तयार छैनन् ।” उनलाई मात्रै होइन रैनादेवी छहराका विष्णु पोखरेललाई पनि परम्परागत जनै बाट्ने र लगाउने संस्कृति लोप हुन लागेकामा चिन्ता छ । “यसको महत्व हराउँदै गएको भन्दा पनि निरन्तरता दिन नसक्नु चुनौती हो”, उनले भने । जनै बाट्ने संस्कृतिको पुस्ता हस्तान्तरण हुन आवश्यक रहेकामा पोखरेलले जोड दिए । जनैको महत्व पछिल्लो समय युवापुस्ताले नबुझ्दा परम्परा र संस्कृति सड्ढटमा पर्ने यहाँका ज्येष्ठ नागरिकको चिन्ता छ । पुरानो पुस्ताले जनै बनाएर परम्पराको संरक्षण गर्दै आए पनि नयाँपुस्ताले यसतर्फ चासो नदेखाउँदा संस्कृति हराउँदै जान थालेको पोखरेलले बताए । पुराना पुस्ता असशक्त (वृद्ध) हुँदै जानु र नयाँपुस्ताले जनै बाट्ने कलातर्फ ध्यान नदिएकाले बाहिरबाट आउने जनैले सहजै बजार पाउने गरेको उनको भनाइ छ ।
हरेक वर्ष जनैपूर्णिमामा विदेशी मुलुकबाट करोडौँ रुपैयाँको जनै आयात हुने गरेको छ । गाउँगाउँमा जनै बनाउने प्रचलन कम हुँदै गएपछि बजारमा खरिद गरी प्रयोग गर्ने क्रम बढेको स्थानीय बताउँछन् । चीनबाट मात्रै हरेक वर्ष करिब रु ५० लाखको जनै आयात हुने गरेको तानसेनका पूजाका सामग्री व्यापारी महेन्द्र अधिकारीले बताए । विशेषगरी, जनैपूर्णिमाका दिन फेर्ने जनैको बजार अत्यधिक माग रहेको जनाउँदै उनले जनै बनाउने प्रचलन कम हुँदै गएकाले बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको धारणा राखे । नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यताअनुसार पूर्णिमाको दिन जनैको कारोबार बढी हुने गरेको अधिकारीले बताए । जनै पूर्णिमाका लागि बजारबाट उपकरणद्वारा बाटिएका जनै खरिद गरेर लगाउने प्रचलन बढेको उनको भनाइ छ । भारतबाट आउने जनै सस्तो हुन्छ, तर त्यसको बनावट राम्रो र उपयुक्त नहुने भए पनि माग बढिरहेको व्यापारी अधिकारीले उल्लेख गरे । उनले भने, “जहाँ गए पनि बजारमा त्यही बाहिरबाट आएको जनै बिक्री गर्न राखेका हुन्छन्, त्यही बेच्नु र उपभोक्ताले किनेर लगाउनु बाध्यता हो ।”
बजारमा आयातित र विभिन्न उपकरणको प्रयोगबाट बनाइएका जनै फरकफरक मूल्यमा पाइने उनले जानकारी दिए । जनै घरमा तयार पार्ने प्रचलन हराउँदै गएपछि बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था आएको तानसेनका पण्डित मधु आचार्यले बताए । उनले भने, “पहिले घरमा धागो ल्याएर बाटिन्थ्यो, अहिले कसैलाई फुर्सद छैन, किनेर बढी प्रयोग हुन्छ ।” ब्रामण समाजको चासो जनै बाट्ने संस्कृति हराउँदै जान थालेपछि ब्राह्मण समाज नेपाल पाल्पाले यसको संरक्षणका लागि चासो देखाएको छ । समाजले गत वर्षदेखि तानसेन नगरभित्रका विद्यार्थी, महिला, पुरुषलाई जनै बाट्ने सीप सिकाउँदै आएको छ । नयाँपुस्तामा जनै बनाउने सीप विकास गराई संस्कृति संरक्षणका लागि बेलाबेलामा तालिम दिने गरिएको समाजले जनाएको छ । नयाँपुस्ताप्रति जनै बाट्ने परम्पराको विस्तार गरी विदेशी मुलुकबाट करोडौँको आयात केही मात्रामा भए पनि रोक्ने उद्देश्यले विधिपूर्वक जनै बनाउने सीप र तालिक उपलब्ध गराउँदै आइएको समाजका अध्यक्ष धर्मचन्द्र नेपालले जानकारी दिए । तागाधारीको पहिचान भनेकै जनै रहेकाले यसको संरक्षणका लागि स्थानीय सरकारले संरक्षणका लागि अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।