
पाल्पा, सरकारले बहुविवाहको अनुमति दिने कानुनको मस्यौदा तयार गरेपछि चौतर्फी आलोचना सुरु भएको छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्ने अधिकांस सांसदहरुले बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने मस्यौदा लेखेको भन्दै आपत्ति जनाएका हुन् ।
बैठकको आकस्मिक समयमा सांसदहरुले बहुविवाहसम्बन्धी सम्भावित कानुनी मस्यौदालाई लिएर सरकारको जवाफ माग गरे । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानुनी मान्यता दिने गरी विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक चर्चा र सञ्चारमाध्यममा आएका समाचारप्रति सांसदहरूले आपत्ति जनाएका हुन् । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यता दिने मस्यौदा लेखेको भन्दै आपत्ति जनाएकी छन् । सांसद सुनिता बरालले बहुविवाह गैरकानुनी भएको र यसलाई मान्यता दिने कुनै पनि प्रयासलाई अस्वीकार्य ठहर गर्दै संसद्मा सरकारको स्पष्ट जवाफ माग गरिन् । “समाजमा महिलाहिंसाको दर उच्च छ । यस्तो संवेदनशील विषयमा कानुन निर्माणको प्रक्रिया गम्भीर र जिम्मेवार ढ·ले हुनुपर्छ”, उनले भनिन । सांसद रुपा सोशी (चौधरी)ले पनि यो विषयको सत्यताका बारेमा प्रश्न उठाउँदै भनिन, “महिलाहरू आज पनि आफ्नो अधिकारका लागि सङ्घर्षरत छन्, त्यही बेला बहुविवाहलाई वैधानिकता दिने विषय आउनु गम्भीर विषय हो ।” सांसद रमा कोइराला पौड्यालले पनि बहुविवाहसम्बन्धी कानुनी मस्यौदा संसद्मा नआइपुग्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यसको चर्चा हुनु आफैँमा चिन्ताको विषय भएको बताइन । उनले विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रालयले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याइन । विधेयकको मस्यौदामा विवाहित पुरुषलाई दोस्रो विवाह गर्न अनुमति दिने लगायत व्यवस्था राखिएको छ । सरकारले लैङ्गिक असमानता र महिला हिंसालाई प्रोत्साहन दिने गरी कानुन निर्माण गर्न लागेको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।