
पाल्पा, प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पि. कोइरालाको ४३ औं स्मृति दिवस मंगलबार पाल्पामा वृक्षारोपण गरि मनाइएको छ । नेपाली काँग्रेसले जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण गरी दिवस मनाएको हो ।
यहाँका १० वटै स्थानीय तहभित्रका डाँडाहरुमा वृक्षारोपण गर्नुको साथै विगतमा रोपिएका विरुवाको सरंक्षण गर्ने काम गरिएको काँग्रेसले जनाएको छ । पछिल्लो समय जलवायु परिवर्तनको असर बढ्दै गएको र वातावरणलाई स्वच्छ राख्न वि.पि.को स्मृतिमा वृक्षारोण गरिएको नेपाली काँग्रेस पाल्पाका कार्यवाहक सभापति झपेन्द्र गहिरेले बताए । उनका अनुसार यहाँका खाली डाँडाँहरुमा टिमुर, तेजपात, आँप, बेलाउती, ओखर लगायतका ५ सय विरुवाहरु लगाइएको छ । सामान्य दृष्टिले वृक्षारोपणलाई विरुवा रोप्ने कामको रुपमा हेरिए पनि यो पारिस्थितिक प्रणालीको निर्माण गर्ने र सामाजिक आवश्यकताहरुको परिपूर्ति गर्ने काम भएको सभापति गहिरेले बताए । उनले भने “विग्रदै गएको पारिस्थितिक प्रणालीको पुनर्भरणको लागि रुख नासिएको वन क्षेत्र, रुख विरुवा नभएको अन्य क्षेत्रमा विरुवा हुर्काएर हराभरा बनाउने, पारिस्थितिक प्रणालीको संरक्षण गर्ने, पानीका श्रोत तथा जमिनको संरक्षण गर्ने उद्देश्य काँग्रेसको रहेको छ ।”
विपिले समेत वृक्षारोपणलाई जोड दिने गरेका कारण पनि काँग्रेसले त्यसलाई निरन्तरता स्वरुप वृक्षारोपण र गरेका विरुवाको संरक्षण गर्ने गरेको काँग्रेसका जिल्ला सचिव सन्तोष थापा मगरले बताए । उनले भने “प्राकृतिक प्रकोप रोक्न बोटबिरुवाले मुख्य भूमिका खेल्छन् । बाढी पहिरो नियन्त्रण गर्न, वन डढेलोलाई नियन्त्रण गर्न, रुख रोप्ने पुरानै चलन हो । रुख विरुवा नभए प्रकोप बढ्छ भन्ने चेत हाम्रा पुर्खामा भएकोले खानेपानीका श्रोतको नजिक, नदी किनार, वस्ती छेउँछाउँ विभिन्न किसिमका रुखहरु रोप्ने गरिन्थ्यो । अहिले त्यो विस्तारै हराउँदै समेत गएको छ । त्यसलाई हामीले हरेक वर्ष अरुलाई पाठका रुपमा समेत सिकाउदै र देखाउँदै आएको छौं ।”
खाली डाँडाँहरुमा वृक्षारोपण गरेर प्रशसंनिय काम भएको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनले भने “मानव वस्ती विकास हुँदै गएको अवस्थामा रुख, विरुवाहरुसमेत मासिदै गएका छन् , नयाँ रोप्ने सोंच कसैमा छैन् । यस्तो अवस्थामा काँग्रेसले आफ्ना नेताको स्मृतिमा वृक्षारोपण गरेर अनुकरणीय काम गरेको छ । ” आगामी दिनमा नगर सरकारले पनि यस्ता कामहरुमा ध्यान दिने नगर प्रमुख श्रेष्ठको भनाई छ । आज यहाँका तानसेन, रिब्दीकोट, रैनादेवी छहरा, माथागढी, तिनाउ, रम्भा, पूर्वखोला,निस्दी, बगनासकाली, रामपुर भित्रका खाली डाँडाहरुमा विभिन्न प्रजातिका विरुवाहरु रोप्नुको साथै पहिले रोपिएका विरुवाहरुको संरक्षण र सरसफाई गर्ने काम गरिएको अर्का पार्टी सचिव सुनिता अधिकारीले बताइन् । विपिको स्मृतिमा केही पालिकाहरुले अन्तक्र्रिया, छलफल र चिन्तन मनन् समेत गरे । राष्ट्रको रक्षा तथा राष्ट्रियताका लागि वि.पि.को विचार र आदर्शको राजनीतिलाई अहिले अगाल्न आवश्यक रहेको काँग्रेस जिल्ला सदस्य सुरेश बोहोराले बताए । उनले भने “वि.पि.को सिद्धान्तकै कारण देशबाट राणा शासन, एकदलीय व्यवस्था र निरंकुश राजतन्त्र हटाउन कांँग्रेस सफल भएको हो ।”
तानसेन–१० तेल्घाको भारकेसडाँडामा भएको वृक्षारोपणमा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्त, काँग्रेस लुम्बिनी प्रदेश सदस्य लालकुमारी राना, काँग्रेसका जिल्ला कोषाध्यक्ष मोहन श्रेष्ठ, पार्टी प्रवक्ता शोभाकर न्यौपाने, काँग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगर, क्षेत्र न. २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी, महासमिति सदस्य देवराज ढकाल, काँग्रेसका पूर्व जिल्ला सचिव अजयमान कर्मचार्य, महाधिवेशन प्रतिनिधि शिवचन्द्र खनाल, शिक्षक संघ पाल्पाका सभापति लक्ष्मण बस्याल लगायतका नेताहरु समेत पुगेका थिए ।