Shittalpati
रूपन्देही उपनिर्वाचनको निर्वाचन तालिका सार्वजनिक

पाल्पा, २०८२ कार्तिक १७ गते हुने  रूपन्देही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ कोउपनिर्वाचनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आइतबार कार्यतालिका सार्वजनिक गरेको हो ।

आयोगद्वारा स्वीकृत कार्यक्रमअनुसार उम्मेदवारी मनोनयन, उजुरी, नामावली प्रकाशन र मतदानको मिति तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उम्मेदवारी मनोनयन २०८२ असोज २१ गते बिहान १०ः०० देखि बेलुका ५ः०० बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । सोही दिन बेलुका ५ः०० देखि ७ः०० बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ । उजुरी दिन २०८२ असोज २२ गते बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्म समय दिइएको छ । मनोनयन पत्रको जाँचबुझ र उजुरीमाथिको निर्णय असोज २२ गते दिउँसो ३ः०० देखि असोज २३ गते बेलुका ५ः०० बजेसम्म हुनेछ । उम्मेदवारको अन्तिम नामावली असोज २३ गते बेलुका ५ः०० देखि ७ः०० बजेसम्म प्रकाशन गरिनेछ । यस्तै, उम्मेदवारले असोज २४ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ः०० देखि ३ः०० बजेसम्म अन्तिम नामावली प्रकाशन र ३ः०० देखि ६ः०० बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिनेछ । मतदान भने २०८२ कात्तिक १७ गते बिहान ७ः०० देखि बेलुका ५ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उक्त क्षेत्रबाट निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ मा निधन भएपछि उक्त क्षेत्र खाली छ । २०७९ को निर्वाचनमा बोहराले काँग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए । आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरूले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था रहेको जनाएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update