
वालिङ (स्याङ्जा), जिल्लामा उद्योग तथा पसलको संख्या दिनानुदिन घट्दो छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले पसल दर्ता खारेजी गर्न थालेका हुन् ।
आर्थिक वर्ष २०८१/८२ मा पर्यटन तथा उद्योग कार्यालयमा नयाँ उद्योग दर्ता हुनेभन्दा खारेजी हुनेको संख्या धेरै रहेको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार आव २०८१/८२ मा १७७ नयाँ उद्योग दर्ता भएकामा २६३ वटा खारेजी भएका छन् । वाणिज्यतर्फ सोही आवमा १४२ वटा नयाँ दर्ता भएकामा १९७ वटाको दर्ता खारेजी गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा २५० वटा नयाँ उद्योग दर्ता भएका थिए । सोही आवमा २२६ वटाको दर्ता खारेजी भएको थियो । वाणिज्यतर्फ १८५ वटा नयाँ दर्ता हुँदा २३४ वटाको दर्ता खारेजी भएको उनले जानकारी दिए । विगतका तुलनामा पछिल्ला वर्षमा व्यापार व्यवसाय घटेकाले उद्योग तथा व्यापार व्यवसाय दर्ता खारेजी गर्न निवेदन बढी आएको जनाइएको छ । खारेजी भएकामा बढी कृषि तथा पशुपालन फार्म, खाजा घर, रेष्टुरेन्ट, कुटानीपिसानीका उद्योग, फेन्सी पसल छन् । अनुदान लिन फार्म सञ्चालन गर्ने र अनुदान लिएपछि फार्म बन्द गर्ने पनि देखिएका छन् ।
उद्योग तथा व्यापार ब्यवसायको दर्ता खारेजी हुनु अर्थतन्त्रका दृष्टिले राम्रो सड्ढेत नभएको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठ बताउन्छन् । पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीका कारण पनि उद्योग तथा व्यापार व्यवसायमा कठिनाई भएकाले खारेजी गर्ने बढेका हुनसक्ने उनको भनाइ छ । आव २०८१/८२ मा विविध शीर्षकबाट पर्यटन तथा उद्योग कार्यालयले ५५ लाख ५५ हजार ७७० राजस्व सड्ढलन गरेको थियो । आव २०८०/८१ मा भन्दा आव २०८१/८२ मा रु २२ लाख बढी राजस्व सड्ढलन भएको हो । नवीकरण गर्न एक वर्ष नाघेका फाइल जरिवाना भुक्तानी गरेर नवीकरण गर्न पाउने नियम आएसँगै गत आवमा राजस्व बढेको कार्यालयले जनाएको छ ।