
ज्येातिष : मुकुन्द पेाखरेल
वास्तुविज्ञान भनेको मूलतः प्राचीनकालका अनेकौं ऋषि महर्षिहरूले अनुसन्धान गरी तयार पारेको प्रकृति, पञ्चमहाभूत र मानव (प्राणी) बीच सन्तुलन गर्ने वैज्ञानिक विधि (पद्धति) हो। मानव र प्रकृतिबिचको सन्तुलनलाई सकारात्मक ऊर्जाको रूपमा प्रयोग गरी प्राप्त हुने फाइदा बेफाइदालाई चिनाउने कार्यपद्धतिलाई पनि वास्तुशास्त्र भन्न सकिन्छ। वास्तुशास्त्रले प्रकृतिका अनेकौं स्वरूपलाई विधिसम्मत अध्ययन गर्दछ, जसको अस्तित्व छ अर्थात् सत्ता छ त्यसलाई प्रकृतिको आधार मानिन्छ। पृथ्वी, जल, तेज, वायु र आकाशको सत्ता प्रत्यक्ष छ। यिनै तत्त्वको प्रकृतविकृत रूप नै संसार हो। त्यसैले वास्तुशास्त्रीय चिन्तन, अनुसन्धान र प्रयोग पद्धतिमा घर, भवन, महल, व्यापारिक भवन, आवासीय दरवार, कोठा, चोठा, बाटो, बगैचा, छानो प्राणीहरूको आवास बनाउन सकिन्छ। त्यस्तै दिशाज्ञान, दिशाको प्रभाव अर्थात् खगोलीय भौगोलिक प्रभाव, कर्माकर्मको अवस्थाआदि हजारौंहजार क्षेत्रका बारेमा वास्तुशास्त्रले मार्गदर्शन गर्दछ ।
पृथ्वीमा रहने सबै प्राणी, पदार्थ वनस्पतिआदिले मानवलाई कसरी सकारात्मक वा नकारात्मक प्रभाव पार्दछन् ? त्यस्तो प्रभाव प्राणीका लागि कसरी फलदायी बनाउन सकिन्छ ? भन्ने चिन्तन पूर्वीय सभ्यताको सुदीर्घ परम्परा हो। यस्तो परम्पराले मानवलाई सभ्य सु-संस्कृत सु-शिक्षित, शान्त, आनन्दमय जीवनयापन गर्न उत्प्रेरित गर्दछ। एक्काइसौँ शताब्दीसम्म आइपुग्दा कतिपय त्यस्ता प्राचीन परम्परा, ज्ञान, विज्ञानलाई जानीनजानी अपनायौं र छोड्यौँ पनि। अपनाउँदा हुने फाइदा र छोड्दा हुने बेफाइदाको आँकलन गरेर विश्व वैदिक संस्कृत युगको सभ्यता, संस्कार, ज्ञान, विज्ञानको खोजी र पुनर्व्याख्या तथा पुर्नजागरणमा लागेको छ। त्यही पुर्नजागरणको अभियानमा दिग्दर्पण, शब्दधातुरूपावली, सन्ध्योपासन विधि, आर्यघाटको सम्झौता लगायत अनेकौं ग्रन्थ, पुस्तिका, पुस्तक पत्रपत्रिका प्रकाशन भएका हुन्। यो हाम्रो अन्यन्त लघु प्रयास मात्र हो। त्यस्तै विभिन्न सञ्चार माध्यमबाट पनि प्रवचन गरिदैँ आइएको सर्वविदितै छ। त्यँही क्रममा यो प्रयास अगाडि आएको हो। जो नितान्त निर्माणसँग सम्बन्धित छ। अनि आहार व्यवहार, रहन- सहनसँग पनि सम्बन्धित छ ।