
पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकाले होमस्टे तालिम लिएकाहरुलाई बिउ पुँजी वितरण गरेको छ । पालिकाले होमस्टे सञ्चालन गर्दा चाहिने कृषि उत्पादन गाउँमै उत्पादन गर्ने अभियानाका साथ बाख्रा, बंगुर, कुखुरा, तरकारी, मौरी तालिम लिएका मरामकोट र जन्तीलुङ्ग बासीहरुलाई बिउ पुँजी वितरण गरेको हो ।
विभिन्न लोकल कुखुरापालन तालिममा सहभागी भएका ३० जनाले ९ वटाका दरले लोकल कुखुरा, बंगुरपालनमा सहभागी २८ जनालाई एक/एक वटा बंगुरको बच्चा, बाख्रापालनमा सहभागीहरुलाई एक/एक वटा बाख्रा, तरकारी खेतीमा सहभागीहरुलाई दुई/दुई वटा टनेल, सिचाइँको लागि दुई/दुई वटा प्लाष्टिक ड्रम, पाईप स्प्रिङकल, मौरीपालनमा सहभागीहरुलाई एक/एक वटा आधुनिक मौरी घार लगायतका सरसमानहरु गाउँपालिकाले बिउ पुँजीका रुपमा वितरण गरेको छ । पाहुना राख्नको लागि जन्तीलङ्गमा ७ वटा, मरामकोटमा २ वटा पाहुना घर निर्माण भएका छन् । गाउँपालिकाले होमस्टेमा चाहिने महको लागि मौरी, मासुको लागि कुखुरा बाख्रा, बंगुर, तरकारीको लागि मौसमी बेमौसमी तरकारी, दुबै गाउँका स्थानीयहरुलाई तालिम प्रदान गरेको छ । हाल मरामकोटमा ५ घर र जन्तीलुङ्गमा १२ घरमा होमस्टे सञ्चालनमा रहेका छन् । बिउ पुँजी वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले मरामकोट र जन्तीलुङ्गमा व्यस्थित रुपमा होमस्टे सञ्चालन गर्न पालिकाले ठूलो लगानी गरेको बताए । गाउँमै बसी–बसी पर्यटन व्यवसायको माध्यमबाट आयश्रोत बढाउन होमस्टे व्यवसायलाई प्रवद्र्धन गर्न बिउ पुँजीसहितको तालिमहरु सञ्चालन गरेको अध्यक्ष श्रेष्ठले बताए । पालिका उपाध्यक्ष लालबहादुर थापाले मरामकोट र जन्तीलुङ्ग पैसा फल्ने स्थान भएकाले महिनामा एक परिवारबाटै लाखौ रुपैयाँ कमाउन सकिने स्थिति देखेर पालिकाको साझेदारीमा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालन गरिएको बताए । प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले जन्तीलुङ्ग मरामकोट निकै सुन्दर ठाउँ रहेकाले हिमालदेखी तराई सम्मका दृश्यहरु एकै स्थानबाट एकै नजरमा हेर्न सकिने र प्राकृतिक सुन्दरतामा रमाउन पर्यटकहरुको आकर्षण बढ्दै गएको बताए । उनले पर्यटकहरुको माध्यमबाट स्थानीय स्तरमा आम्दानी बढाउन पालिकाको सहयोग निरन्तर रहने बताए । पालिकाले बिउ पुँजीको माध्यमबाट मौरी, कुखुरा, बाख्रा र बंगुर, मौसमी तथा बेमौसमी तरकारीको उत्पादनमा बृद्धि गर्ने अपेक्षा सहित तालिममा सहभागीहरुलाई निश्चित समय सम्म बिउ पुँजी मास्न नपाउने गरी स्थानीयहरुमा वितरण गरेको गाउँपालिका मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमका फोकल पर्सन कृष्ण ज्ञवालीले बताए ।
पालिकाले होमस्टे प्रचार प्रसारको लागि सिद्धार्थ राजमार्गको दोभान, झुम्सा, चर्चरे, डुम्रे तथा दुबै क्षेत्रको विभिन्न चोक चोकमा होडि·बोर्डहरु समेत राखेको छ । पालिका भित्रका अग्ला अग्ला पहाड तथा टाकुराहरुमा ग्रामीण पर्यटन व्यवसाय फैलाई स्थानीयहरुको आयआर्जन बढाई, युवाहरुलाईलाई गाउँमै स्वरोजगार बनाउन गाउँपालिकाले सामुदायिक कृषि पर्यटन( होमस्टे प्रवद्र्धन) कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश सरकार मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत मरामकोट र जन्तीलु·मा सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको हो । त्यहाँ दैनिक एक सय भन्दा बढी पर्यटकहरु घुम्न जाने गरेका छन् ।