Shittalpati
मानो छरेर मुरी उब्जाउन व्यस्त पाल्पाका किसान

पाल्पा, पाल्पाका किसानलाई यतिबेला रोपाइँको चटारो छ । मानो रोपेर मुरी फलाउने महिना सुरु भएकाले किसानहरु अहिले खेतमै देखिन्छन् ।

बिहानदेखि साँझसम्म किसानहरु धान रोप्न खेतमा व्यस्त छन् । जेठको अन्तिम हप्तादेखि सुरु भएको धान रोपाइँ साउनको दोस्रो हप्तासम्म हुने गर्दछ । सिँचाइ भएका क्षेत्रका स्थानमा असारको दोस्रो हप्ता भित्र धान रोपाइँ सकिएको छ भने आकासे पानीको भरमा हुने क्षेत्रका किसानले भने अहिले बल्ल रोप्न थालेका छन् । आकासबाट पानी परेपछि यस वर्षको धान रोपाइँ सुरु गर्न लागेको रैनादेवी छहरा गाउँपालिका मुझु·का रामबहादुर कार्कीले बताए । “आकाशबाट पानी बल्ल पर्न थाल्यो,” कार्कीले भने, “सिँचाइ नहुँदा मनसुनलाई कुर्नुको विकल्प छैन ।” सिचाँइ नहुँदा चैते धान र मकै लगाएको अधिकांश क्षेत्रमा किसानले ढिलो रोपाइँ गर्ने गरेका छन् । छहराकै नेत्रबहादुर बुढाथोकी हिलो सम्माउनमै मै व्यस्त छन्  । परिवारसँगै उनी व्यस्त भएका हुन् । कसैले धान रोप्ने, कसैले विउ काड्ने, कसैले आली लगाउने, कसैले जोत्ने काम गरिरहेका छन् । खेतीमा बूढाथोकीको परिवार मात्र होइन, यस क्षेत्रका अधिकांश किसान रोपाइँ मै व्यस्त छन् । तानसेन दमकडाकी सीता नेपालको परिवार पनि खेतमै भेटियो । धान रोप्ने चटारोले उनको परिवारलाई कुरा गर्ने फुर्सद छैन् । “हामी दिनरात काममा व्यस्त छौं,” नेपालले भने, “यो समय मानो रोपेर मुरी फलाउने हो, अहिले काम गरे वर्ष भरी पुग्ने धान उत्पादन गर्न सकिन्छ । त्यही भएर पनि हामी काममै व्यस्त छौं ।”  यहाँका केही क्षेत्रमा सिँचाइ कुलो अभाव साथै धान रोप्ने, मकै गोड्ने समयमा रासायनिक मलको अभाव झेलिरहेका छन् । कतिपय भेगका किसानले केही दिन अघि मात्र बल्ल धानको ब्याड राखेका छन् । कतिपय स्थानमा भने असारे भाकामा गीत गाउँदै पञ्चेबाजा बजाएर टार, फाँटमा किसानहरू हिलो छ्यापाछ्याप गरेर रोपाइँ गरिरहेका छन् । पाल्पाको अन्नभण्डार माडीफाँट, रामपुर, कचल, अर्गली जस्ता फाँट कालीगण्डकी तटीय क्षेत्रमा पानी परेपछि किसान खेतमा पुगेका छन् ।

जिल्लामा वर्षैभरि सिँचाइ हुने ३ हजार ९६४ हेक्टर जमिन छ । बाँकी ४ हजार ७ सय ८६ हेक्टरमा आकासे पानीको भर पर्नुपर्छ । यहाँ विशेषगरी अन्नको भण्डारको रुपमा लिइने तानसेनको माडी फाँट, अर्गेली, रम्भा गाउँपालिकाको हुँगी, हेक्लाङ, रामपुरको रामपुर फाँट, पूर्वखोलाका केही फाँट, निस्दी गाउँपालिकाको ढुँनावेसी, तिनाउ गाउँपालिकाको कचल, झ्याङ्ला, रिब्दीकोट र रैनादेवी छहराका तल्ला फाँटहरुमा धान खेती गरिदै आइएको छ । रामपुरका केही फाँटहरुमा रोपाइँ चलिरहेको छ भने केही ठाउँमा मकै निकालेर रोप्ने तयारीमा किसान जुटेका छन् । जिल्लामा ८ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको कृषि ज्ञान केन्द्रका प्रमुख अरविन्द मणि त्रिपाठीले बताए । जिल्लामा करिव ६ सय ५० हेक्टर क्षेत्रफलमा भने चैते धानको खेती हुँदै आएको छ । यहाँका किसानले ठूला–ठूला फाँटमा आधुनिक कृषियन्त्रको प्रयोग गरेका छन् भने टारी खेतहरुमा अझै पनि हल गोरु लगाएर रोपाइँ गर्दै आएका छन् । 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update