Shittalpati
पाल्पाको एसईई नतिजामा सुधार : ६ जनाले ल्याए चार जिपिए

पाल्पा, पाल्पामा यस वर्षको एसईई नतिजामा सुधार आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको एसईई परिक्षा २०८१ को नतिजामा गत वर्षको तुलनामा केही सुधार देखिएको हो ।

नतिजा अनुसार यहाँका ६०. ४५ प्रतिशत विद्यार्थी उत्र्तिण भएका छन् । साधारणतर्फ ५९ दशमलव ९३ प्रतिशत र प्राविधिक धारतर्फ ६८ दशमलव ४२ प्रतिशत विद्यार्थीले ग्रेड पुरा गरेका छन् ।

जसमा ६ जनाले चार जिपिए ल्याएका छन् । दुई सामुदायिक र एक संस्थागत  विद्यालयका  चार छात्रा र दुई छात्रले चार जिपिए ल्याउन सफल भएका हुन् ।

तानसेनको देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयबाट एक जना र न्यू होराईजन माध्यमिक विद्यालयबाट तीन जना र रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरबाट दुई जना विद्यार्थीले चार जिपिए ल्याएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका अनुसार देववाणी देववाणी संस्कृत तथा साधारण माविबाट सुलभ भट्टराई, न्यू होराईजन माविबाट दिया कार्की, कामना राना र निश्चल भण्डारी, रामतुलसी माविबाट विविशा घिमिरे र अनुजा श्रेष्ठले चार जिपिए ल्याउन सफल भएका हुन् ।

चार जिपिए ल्याउने विद्यार्थीहरु सबै साधारण तर्फका रहेको समन्वय इकाइका प्राविधिक सहायक बोमबहादुर थापाले बताए । अघिल्लो वर्षको तुलनामा चार जिपिए ल्याउने विद्यार्थी संख्या बढेको छ । गत वर्ष जिल्लाबाट दुई जनाले मात्र चार जिपिए ल्याएका थिए । जहाँ जनता माध्यमिक विद्यालय(जेभेटी)  तानसेनका उत्सव ढुङ्गाना र रामपुर नगरपालिकाको दराई ठाटी माध्यमिक विद्यालय रामपुरकी पूर्णिमा लक्ष्मी कुवँरले ४ जिपिए ल्याई जिल्ला प्रथम भएका थिए ।

यस वर्षको एसइईमा १ सय ३९ विद्यालयका ३ हजार ७ सय ३२ विद्यार्थीले परीक्षा दिएका थिए । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार यस वर्षको एसईईमा जीपीए ३.६१ देखि ४ सम्म ल्याउने विद्यार्थीको संख्या २ सय ५० रहेको छ । जीपीए ३.६० भन्दा मुनि ३.२० सम्म ६ सय १३ जनाले प्राप्त गरेका छन् । यस्तै, ३.२० भन्दा मुनि २.८० सम्म प्राप्त गर्ने ८ सय १४ जना छन् । जीपीए २.८० भन्दा मुनि २.४० सम्म ५ सय ५३ र २.४० भन्दा मुनि २.० सम्म ल्याउने विद्यार्थीको संख्या २० छ । जीपीए २.० भन्दा मुनि १.६० सम्म ल्याउने छैन भने १.६० भन्दा कम ल्याउने विद्यार्थी १ हजार ४ सय ७६ जना  छन् ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update