
पाल्पा, भिजिट भिसा प्रकरणले जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसद् बन्धक बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा भएको भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको अडानका कारण संसद् बन्धक बन्दै आएको हो ।
बुधबार पनि बैठक नै नबसी बिहीबारसम्मका लागि स्थगित गरिएको छ । १ बजेका लागि बोलाइएको बैठक संघीय संसद् सचिवालयले सूचना टाँस गरेर ३ः१५ बजेका लागि सारिएको बताएको थियो । तर उक्त समयमा पनि बैठक नबसेपछि संसद् सचिवालयले बिहीबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको जनाएको छ । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको चौथो बैठक अवरुद्ध भएको हो । यसअघि जेठ १३ र १४ का लागि बोलाइएका बैठकमा विपक्षी दलले अवरोध गरेका थिए । त्यस्तै भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षीबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक मंगलबार पनि अवरुद्ध भएको थियो । मंगलबारको बैठकमा गृहमन्त्रीलाई सम्बोधन गर्न दिने तर छानबिन समिति गठनको घोषणा हुनुपर्ने विपक्षी दलहरूको माग थियो । तर, सत्तारूढ एमाले र कांग्रेसले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले अर्को न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान राखेपछि प्रतिनिधिसभा बैठक बस्न सकेको छैन् । सत्तापक्षले गृहमन्त्री लेखकमाथि उजुरी नै नपरेकाले कुनै एउटा कर्मचारी अनियमिततामा मुछिनेबित्तिकै मन्त्रीले राजीनामा गर्ने सवाल नै नभएको बताइरहेको छ ।
गृहमन्त्रीको राजीनामाको विषयमा दलहरूबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैंठक निरन्तर अवरोध हुँदै आएको हो । बुधबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएपछि आजका लागि बोलाइएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी दलहरूसँग सहमति नजुटेपछि बैठक आजका लागि सारिएको थियो । संसद सचिवालयका अनुसार बैठक आज बस्दै छ । तर प्रतिपक्षको अडानका कारण आज पनि बैंठक बस्ने सम्भावना न्यून रहेको स्रोतले जनाएको छ । संसदको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षीसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तीन दलका शीर्ष नेतासँग बैठक बसे पनि नेकपा माओवादी केन्द्रले भने आफ्नो अडान कायमै राखेपछि छलफल निष्कर्षविहीन बन्दै आएको छ ।