Shittalpati
नेपाल प्रेस युनियनको ३४ औं  स्थापना दिवस : पाल्पामा दिप प्रज्वलन

पाल्पा, लोकतान्त्रिक पत्रकारहरुको साझा संगठन  नेपाल प्रेस युुनियनले देशैभर विभिन्न कार्यक्रम गरी ३४ औं स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको युनियनले मंगलबारदेखि स्थापना  दिवस मनाउन थालेको हो ।

युनियन पाल्पा शाखाले पनि पहिलो दिन दिप प्रज्वलन गरेको छ । उसले तानसेनको विशाल बजारस्थित विपीचोकमा दिप प्रज्वलन गरेको  हो । प्रमुख अतिथि नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, विशिष्ट अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल सहित  प्रेस युनियन र पार्टीका नेताहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरेका थिए । दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं काँग्रेसका जिल्ला सभापति श्रेष्ठले लोकतान्त्रिक पत्रकारहरुको हकहितमा प्रेस युनियनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । देश र समाज परिवर्तनका हरेक सकारात्मक परिवर्तनमा समेत युनियनले महत्वपूर्ण योगदान पुर्‍याएको इतिहास हामी माझ रहेको उनको भनाई छ । सभापति श्रेष्ठले भने “ प्रेस युनियन लोकतन्त्रको पक्षमा दृष्ढताका साथ लाग्नुको साथै प्रेस स्वतन्तत्रा, मानवअधिकारको रक्षा र जनतालाई सुशुचित  गर्ने काममा समेत सक्रियताका साथ लागेको छ । आगामी दिनमा पनि सशक्त ढंगले आवाज बुलन्ध गर्न आग्रह गर्दछु ।”

विशिष्ट अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अर्यालले  देशैभर विभिन्न कार्यक्रम गरी युनियनले स्थापना दिवस मनाइरहेको बताए । युनियनले  एक सातासम्म विभिन्न रचनात्मक  कार्यक्रम गरी दिवस मनाउन लागेको उनले जानकारी दिए । युनियनकी जिल्ला अध्यक्ष मन गहिरेले केन्द्रीय निर्देशन अनुसार जिल्लामा पनि विभिन्न कार्यक्रमहरु तय गरिएको बताइन् । शाखा अध्यक्ष गहिरेको अध्यक्षता, उपाध्यक्ष विष्णु खनालको स्वागत, अर्को उपाध्यक्ष रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो । 


 

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update