Shittalpati
गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर

बलेवा (बागलुङ), यहाँको बरेङगाउँपालिका–३ बाटाकाचौरकी ८२ वर्षीया भागीरथी लुहारले बिहीबार गाउँमै विशेषज्ञ चिकित्सक भेटे ।  पेट दुख्ने समस्या लिएर स्वास्थ्य चौकी पुगेकी उनलाई चिकित्सकले आवश्यक जाँचपछि औषधि दिए । परिवारको सहारामा स्वास्थ्य चौकी पुग्नुभएकी लुहार खुशी भएर घर फर्किईन । 

सोही ठाउँकै ७० वर्षीया विष्णु थापा पनि बिहीबार बिहानैदेखि बाटाकाचौर स्वास्थ्य चौकीको प्राङ्गणमा लाममा बसेर कन्सल्टेन्ट फिजिसियन डा सन्दिप सापकोटासँग स्वास्थ्य जाँच गराए । डाक्टरले औषधि लेखिदिएपछि औषधि वितरण कक्षबाट औषधि लिएर खुसी हुँदै घर फर्किए । स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा चिकित्सकहरु हेमन्त बाँस्तोला, सन्दिप सापकोटा, सन्दिप केसी, आशिष सापकोटालगायतले बिरामीको जाँच गरेका थिए । सन्तोष सुवेदीको नेतृत्वमा औषधि वितरण र आशिष शाक्यको नेतृत्वमा प्रयोगशाला सेवा सञ्चालन गरिएको थियो । शिविरमा बिरामीको भीड थियो । धौलागिरि प्रादेशिक अस्पताल बागलुङ र प्रादेशिक अस्पताल पर्वतका चिकित्सकहरुको विशेष उपस्थितिमा स्वास्थ्य चौकीमा विशेषज्ञ सेवा उपलब्ध शिविर बरेङ गाउँपालिकाले सञ्चालन गरेको हो । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको समन्वय, दुवै अस्पतालको प्राविधिक सहयोग र गाउँपालिका तथा वडा कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट चार सय बढी बिरामीले सेवा लिएका छन् । शिविरमा आउने अधिकांश बिरामी सुगर, प्रेसरलगायत समस्या लिएर आएको डा हेमन्त बाँस्तोलाले बताए ।

शिविरमा हाडजोर्नी तथा नशा, सामान्य चिकित्सा, बाल रोग, महिला तथा प्रसूति रोग, भिडियो एक्सरे, प्रयोगशाला र निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा सहभागी अधिकांश ज्येष्ठ नागरिक, महिला तथा बालबालिका थिए । उनीहरुले गाउँमै प्रयोगशाला, भिडियो एक्सरेसहितको विषेशज्ञ सेवा लिए । गाउँबस्तीका सर्वसाधारणको स्वास्थ्यसम्बन्धी समस्या पहिचान गर्ने, सर्ने तथा नसर्ने रोगको पहिचान र निदान गाउँमै गर्ने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । केही समयअघि वडामा सञ्चालित शिविरमा विशेषज्ञ सेवा माग भएपछि शिविर आयोजना गरिएको वडाध्यक्ष शेरबहादुर खनालले बताए । स्वास्थ्य शिविर उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सरकार नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको बताए । उनले नागरिकको नजिक विषेशज्ञ सेवा पु¥याउने प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे। 

प्रकाशित मिति: शनिबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update