Shittalpati
रामपुर नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा

पाल्पा, जिल्लाको रामपुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । १५ महिना मुनीका पालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

नगर भित्रका १० वटै वडाहरूमा रहेका १५ महिना मुनिका सबै बालबालिकाले १३ वटा सरुवा रोगहरुको खोप अनिवार्य पाएको सुनिश्चितता भएपछि पालिकालाई पूर्ण खोप दिगोपन सुनिश्चितता पालिका घोषणा गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । चालु वर्षमा हालसम्म सबैले पूर्ण खोप पाएको र अगामी दिनमा पनि दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिकाको रूपमा घोषणा गरिएको हो । रामपुर नगरपालिकामा एक कार्यक्रम गरी जिल्ला खोप समन्वय समिति पाल्पाले प्रमाण पत्र हस्तान्तरण गरेको छ । जिल्ला खोप समन्वय समितिका संयोजक टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोख्रेलले, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डित, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेलाई पूर्णखोप सुनिश्चितता भएको प्रमाण पत्र प्रदान गरी पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले भौतिक पूर्वाधारको विकासले मात्र विकासको सुचक पुरा नहुने बताए । खनालले विकासको सूचकमा यहाँका जनताको स्वस्थ्य र औषत आयुको महत्वपूर्ण भुमिका रहने भन्दै यसका लागि पूर्ण मात्राको खोप अपरिहार्य रहेको बताए । राज्यले स्वास्थ्यमा ठूलो धनराशी खर्च गर्दै आएको बताउँदै यसलाई सामान्य रुपमा नलिन आग्रह गरे । नगरपालिका प्रमुख रमण बहादुर थापाले दीर्घकालिन विकास भनेको स्वास्थ्य र शिक्षामा लगानी भएको बताए । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुक प्रसाद पोख्रेलले जिल्लालाई विसं २०७० फागुन १३ गते नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको र संघीयता पश्चात २०७९ देखि पाल्पालाई निरन्तर तेस्रो वर्षसम्म पूर्ण खोप सुनिश्चित जिल्ला घोषण गर्न सफल भएको बताए । गाँडाकोट स्वस्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेखले शिशु मृत्युदर न्यूनिकरणका लागि नेपालमा १४ वटा खोप लगाईदै आएको जानकारी दिदै खोपमा सक्रिय स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंय सेविकाहरुलाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताए ।

महिला स्वास्थ्य स्वंय सेविका कमला घर्तीले स्वास्थ्य स्वंय सेविका आफुहरुको काम सरकारी तवरबाट मल्याङ्कन हुन नसकेको गुनासो गरिन् । नगरपालिका स्वस्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले चालु आर्थिक वर्षमा जन्मदेखि १५ महिनासम्मका ५ सय ५७ र १६ महिना देखि ५९ महिना सम्ममा एक हजार ९ सय ७३ जनाले पूर्णखोप प्राप्त गरेको तथ्याड्ढ रहेको बताए । महिला स्वास्थ्य स्वंसेविका, स्वास्थ्यकर्मीहरु परिचालन गरी सबै वडामा खोज र खोप अभिायान सञ्चालन गरिएकोमा कुनै पनि बालबालिका नियमित खोप लगाउन छुटेको नभेटिएको घिमिरेले बताए । नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख घिमिरेको स्वागत र नगरपालिकाकाका नर्सि· अधिकृत पुनम धितालको सञ्चालनमा कार्यक्रम  भएको थियो ।


 

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update