
दाङ, लुुम्बिनी प्रदेशले राजस्व संकलन सम्बन्धी विधेयक पारित गरेको छ । प्रदेशको आर्थिक प्रशासनलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएको प्रदेश समायिक कर तथा राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशनको चौथो बैठकमा आइतबार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विधेयक प्रस्तुत गरेका थिए । उनले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १०९ को उपनियम (१) को खण्ड (क) बमोजिम विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव पेस गरेका थिए । छलफलका लागि कुनै सदस्यले नाम नटिपाएका कारण विधेयकलाई प्रत्यक्ष निर्णयार्थ प्रस्तुत गरिएको थियो ।सभामुख तुलाराम घर्ती मगरले बैठकमा जानकारी दिँदै विधेयकमाथि कसैले विपक्षमा मत नदिएको हुँदा सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए । यो विधेयकमार्फत अब प्रदेश सरकारले स्थानीय तहहरूसँग समन्वय गर्दै कर संकलन प्रणालीलाई एकीकृत, पारदर्शी र उत्तरदायी बनाउने कानुनी संरचना तयार गर्नेछ ।