लेख्दै गरेको रातो कलम टक्क रोकिन्छ
रोकिएको कलमलाई भित्तामा ठक–ठक पार्छु
कलम फुटेर ‘रातो’ मसि पोखिन्छ
अनि म कमरेडलाई सम्झन्छु
युद्वकालमा रातो रगतले सिर्जिएको देशको माटो सम्झन्छु
रातो र कमरेडहरू पर्यायवाची हुन
किनभने कमरेडलाई रातो रङ्ग मन पर्छ..!!
यहाँ रङ्गसँग रङ्गकै भेदभाव भएर हुन सक्छ
कोही रङ्गहरू प्रगाढ भएका अनि केही रङ्गहरू सिख्रा
कमरेडको जीवनमा सिख्रा रङ्गहरूको सिट छैन
कमरेडको जीवनमा केवल सांसदिय सिटको रङ्ग छ
केवल कुर्सी र पावरको रङ्ग छ..!!
यो रङ्गको भोक कमरेडलाई युद्वकालबाटै लागेको हो
युुद्वकालमा रातो रङ्गको नदि बगाएर
कमरेड अहिले राजनीतिको डुङ्गा तरिराखेका छन्..!
कमरेडलाई थाहा छ,
रङ्ग मेटियो भने सत्ता पनि मेटिन्छ
रङ्ग हरायो भने कुर्सी पनि हराउँछ
सायद त्यही भएर होला
कमरेडहरू अहिले जनताको आँशुको रङ्गसँग शासन गरिराखेका छन्
कमरेडहरू जनताको स्वाभिमान माथि शासन गरिराखेका छन्...!!!
उनी बिहानै उठेर डोको र गाग्री बोकेर केही दुर परको पधेरोमा पानी भर्न जान्छिन् । उहाँ आफ्नो बेडबाट झरेर,गलैचाको चाक्लो हृदयसँग खेल्दै सोफा सेटमा पुगेर एक गिलास जुस पिउँनु हुन्छ । कति फरक छ, महामहिम र उनको सोचको आकार,कति फरक छ कर्म..! उनलाई थाहा छ, उनको संसार पधेरो, घरगोठ र सानो समाज हो । उहाँलाई थाहा छ, उहाँको संसार पुरै संसार हो ।
राष्ट्रपतिको कार्यलयमा करोडौँको गलैचा फेरिदा, मजदुरको घरको गुन्द्री फेरिदैन । फेरिदैन, गरिबको शरीरको आकार । भोकले तहसनहस पारेको लुलो शरिरसँग अब सरकारको क्षमतालाई प्रश्न गर्ने गरिबको शरीरसँग क्षमता पनि छैन । क्षमता नहुनेहरूलाई हरेक पल्ट क्षमा किन गरिराख्नु..?? भारतबाट आउँदै गर्दा भोकले पिसोलिएर दशगजामा आएर आफ्नो अन्तिम स्वास फेरेका एकजना नेपाली युवाको कथा पढ्नु भयो ? हृदयसँग हृदयता भन्ने कुरा धेरै भयो भने, आँखा भरी आँशुले सागर बनाउँने रैछ । यो देशमा हृदय भएको नेता देख्नु भयो भने, आँखा जुधाएर हेरिदिनु होला है । एकै छिन सोच्छु, यो कोरोनाको महामारी कहिले रोकिएला ? कहिले रोकिएला, कोरोना भन्दा ठूलो मेरो देशको भ्रष्टाचारी महामारी ? हरेक रात सुत्नु भन्दा अघि एक फेर देशलाई सम्झन्छु, देशको माटोलाई सम्झन्छु अनि सम्झन्छु तराई, पहाड र हिमाललाई । यो मेरो दैनिक जीवनको कार्य हो । मन्त्री ज्यूहरूको कार्यलयमा यतिबेला डमबेलले आफ्नो शक्तिको प्रदर्शन गर्दै होलान है..? यो कस्तो समय गुज्रिरहेछ देशमा, मन्त्रीहरू खाएर लाएको ज्यान बनाउन लाखौमा जिमखाना खोल्दै छन् । अनि मजदुरहरू खाना नपाएर बिच बाटोमा छट्पटाई छट्पटाई मरिराखेका छन् । नखाएको त विष पनि लाग्दैन भन्छन्, फेरि नखाएपछि भोक पनि नलाग्नु नि ।
यो कस्तो गणतन्त्रको तान्त्रिक शक्ति रहेछ, जहाँ जनताको मतले शासनमा पुगेकाहरूले स्वतः सर्वहराको सौखिन रामराज्यको कल्पना गरिराखेका छन् । रामराज्यका राम, सीता, लक्षमण र हनुमानहरूको बर्चश्व पनि क्या गज्जबको छ । क्या गज्जबको छ यिनको भ्रष्टाचारी खेल । तर कलियुगका यि राज्यका राजाहरूबाट सत्यताको संरगम गाइदैन । यिनीहरू लयमा लय मिलाएर, मौसम र बेमौसम मिलाएर भ्रष्टाचारको भजन गाउँछन् । देशमा कोरोनाको असर वनमारा जत्तिकै फैलिदै छ । हिजो भारत लगायतका देशहरूबाट आफ्ना नागिरक ल्याउँन सरकारपछि हट्यो । भारत र नेपालको सिमा क्षेत्रमा हजारौँ नागरिक रोइ, कराई चिच्चाई बसे तर अँह सरकारले सुनेन् । सरकारको कानले सुन्ने क्षमता सुन वालाहरूसँग मात्र गाँसिएको होला । हैनभने आफ्नै देशका नागरिकहरू ज्यानको जोखिम मोलेर नदि तरेर देशको काखमा सायदै आउँने थिएनन् ।
नागरिकलाई थाहा छ, आमाको काखको स्वच्छता, सरकारलाई थाहा छैन, ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी ।’ सरकारलाई नागरिकको प्रेम छैन, नागरिकलाई देशको माटोको प्रेम छ । सरकारलाई सायद चेत थिएन, देशभन्दा बाहिर पनि यो देशका नागरिक छन् भन्ने । जुन समिक्षा त्यतिबेला सामन्य तयका नागरिकहरूले गरिरहेका थिए, आज देशमा त्यही भइराखेको छ । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै छ, बढ्दै छ मृतकको संख्या पनि १,२,३... गरेर । सरकारसँग नागरिकको स्वास्थ्य परीक्षण गर्ने किट छैन । छैन स्वास्थ्य मन्त्री भनिएका मानवसँग मानवता । अनि यो विपद्कालमा सरकार कहाँ छ भनेर सोध्न र हेर्न लाग्नु भयो भने तपाईले सरकारलाई एमसीसीको जगमा पाउँनु हुन्छ । अब जगको सस्तो ढलान गरेर सरकार भन्छ, यो भूकम्प रहित छ, राष्ट्रिय हित छ । यो भन्दा ठूलो चोट के हुन सक्छ, जनताका लागि यो भन्दा ठूलो खोट के हुन सक्छ देशका लागि ¤¤ गणतन्त्रको प्राप्ति एउटा राजा फालेर राष्ट्रिय हितका लागि राष्ट्रपति ल्याउनु थियो । तर विडम्बना, एउटा राजा फालिसकेपछि हजारौँको संख्यामा यो देशमा अरू रजौटेहरू जन्मिन्छन् भनेर कसले सोचेको थियो ? यदि जनताको हित र देशको माटको प्रेम हुन्थ्यो भने कोरोना महामारीमा अरवौंका घोटालाहरू किन हुन्थे ? किन हुन्छन् यो देश विपतीमा गुज्रिरहेका बेला अरवौका घोटाला ?
हामी साँक्षी छौ, विगतदेखि हाम्रा सामिप्यमा हामीसँगै रहेका देशहरूको । उनीहरूको स्तर र हाम्रो स्तर उही त थियो तर अफसोस हामी उहीँ छौ तर उनीहरू कुनै पथ बोकेर चुचुरो पुगिसके । संसारकै अग्लो चुचुरो सांच्चै हामीसँगै छ । एकछिन घोत्लिएर गर्व गरौँ न त । तर अब एउटा प्रश्न गर्न मन छ, हाम्रा सो कल्ड रामराज्यका महामहिमहरूलाई, राष्ट्रको भावनामा राष्ट्रवादी बनेर, राष्ट्रको संरचनामा समृद्विको आकाश खडा गर्न अझै कति बर्ष लाग्छ ? अझै कति वर्ष यस्तै वृद्ध शासकहरूबाट देशको शासन हेर्नुपर्छ ? हाम्रो गाउँघरमा ५०/५५ देखि माथिका सबैलाई हामी आधार गरेर हजुर बुबा, हजुरआमा भन्छौ तर राजनीतिमा ६०/७० वर्षिय वृद्ध पनि युवा नेता किन हुन्छ ? अब प्रश्न गर्नु छ, हाम्रा वृद्ध प्रधानमन्त्रीलाई (प्रम ज्यू सारङ्गी, मुरेली, मादलको ताल कस्तो आउँदो रैछ..? सिमानामा नागरिकहरू रून्चे अनुहार लगाएर ग्वा ग्वा रोहिराखेका छन् । अनि हाम्रा प्रम बालुवाटारमा सारङ्गी रेट्दै छन् । कति फरक छ, जनता भोकले रेटिनु र प्रमले सारङ्गी रेट्नु मा । यो महामारीमा आँशुका थोपा बगाएर जनताहरू भोकसँग लड्दै छन् । अनि हाम्रा प्रम ओम्नी लगायतका क्यौँ कम्पनीहरूसँग हाम हालेर बसिराखेको छन् । प्रधानमन्त्री ज्यू कविता लेख्छन्, कवितामा लेख्छन् अब जनताले आँशु झार्नु पर्दैन, अब कोही भोकै मर्नु पर्दैन । तर प्रम ज्यू जोशिलो र सम्झने सक्ने क्षमता छ भने, सम्झनुस् तरार्ईको बाढी । सम्झनुस् बाढीमा जमिन नपाएर तराईमा बाढीमै बगेको एउटा बालकको दृश्य । छ त सम्झन सक्ने क्षमता ? उनै बालकका आफ्नै परिवारको सदस्यको यही महामारीमा खान नपाएर मरेको घटना पढ्नु भयो त पत्रपत्रिकामा ?
प्रम ज्यू जनता हारगुहार गर्दैछन् । जनतालाई डर छ, ज्यानको, परिवारको, भोकको, आँशुको अनि यो देशको माटोको । तर जनताको आँशुलाई देखेर पनि नदेखेझै गरेर कविताको भावमा भावहित भएर एउटा कुनामा कल्पनामा बगेर देशमा समृद्धि आउँछ ? यस्तो महामारीमा पनि जनतासँग कुनै साक्षरता छैन । यो भन्दा पिडा अरू के हुन्छ होला ? हामी हेर्छो, बाहिरी मुलुकका प्रमका कार्यहरू, उनीहरूको जनतासँगको स्पर्शले यही भन्छ उनीहरू लिडर हुन । अनि हामी भएको नेता भनिनेहरूबाट अझै पनि देशको समृद्धिको आकार खोजेर बस्छौ । करोडौँको गाडी र बिलासी जीवन बिताउन राजनीति गरेकाहरू कसरी जननेता ? हैन भने यो महामारीमा अरवौको घोटाला किन हुन्छन् ? प्रम ज्यू बोल्नु हुन्न, सयाद बोल्नलाई फुर्सद छैन । मैले त प्रमको अहिले सम्मको भाषण पनि सुनेको छैन । सुन्न पनि मन छैन । चाहे शेरबहादुर हुन्, चाहे ओली हुन्, चाहे बामदेव हुन् या प्रचण्ड हुन् अब यिनका टुटे फुटेका भाषण सुनेर देश माथि गद्दार गर्न मन छैन । यिनीहरू अब वृद्ध भए । सकिन्छ भने अब वृद्धाभत्ताको कोष बनाएर यिनीहरूलाई भत्ता बाँडिदिए पनि हुन्छ । राजनीतिलाई कर्मको थलो बनाएर देश माथि गद्दार गर्नेहरूलाई पनि नेता मानेर पुज्नु पर्ने ? यो कस्तो संस्कारको सुरूवात भएछ, सत्तामा शासित भएर बसेका नेताहरू गोरू मोटाए झै मोटाउँछन् । यसरी दिनप्रति दिन देशको माटोसँग गद्दार गर्नेहरूले भ्रष्टाचारको अँहकार बोकेर लिथ जस्तै लिप्त हुनेहरूको शासन देखेर भन्न मन लाग्छ वृद्ध नेता ज्यूहरू, अब त अति भएन र... ?