
पाल्पा, माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार शनिबारदेखि परीक्षणको काम सुरु भएको हो ।
उत्तरपुस्तिका परीक्षण देशभरका ५० वटा केन्द्रमा प्रारम्भ भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । उत्तरपुस्तिका परीक्षणका लागि दैनिक ३० हजार शिक्षक परिचालन भइरहेका छन् । बोर्डले असार पहिलो साता नजिता सार्वजनिक गर्ने तालिका थियो । तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षणको काम ढिला गरी सुरु भएको हो । २० चैतदेखि २९ दिन शिक्षकहरूको आन्दोलनका कारण परीक्षण हुन सकेको थिएन ।
विद्यालयका शिक्षक र कर्मचारीको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण विगतमा भन्दा झन्डै एक महिना ढिला आरम्भ भएको हो । उत्तरपुस्तिका सम्बन्धित विषयका विज्ञ शिक्षकले परीक्षण गर्दै आएका छन् । उनीहरूलाई जिल्ला शिक्षा समन्वय एकाइले परिचालन गर्दै आएको छ । उत्तरपुस्तिका परीक्षण १५ दिनभित्र गरिसक्ने लक्ष्य कार्यालयको छ । एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश थिए । वैशाख १७ गते नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएपछि आन्दोलनबाट फर्किएका शिक्षकहरू एसईईको उत्तरपुस्तिका परीक्षणमा सहभागी हुन थालेका हुन् ।
नेपाल शिक्षक महासंघले पनि सरकारसँग भएको सहमतिपछि देशभरका शिक्षकहरूलाई विद्यार्थी भर्ना, अध्यापन, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षणजस्ता विद्यालय शिक्षासँग सम्बन्धित सबै काममा यथावत् संलग्न हुनु अनुरोध गरिसकेको छ । विगतमा वैशाख दोस्रो साताभित्र एसईईको उत्तरपुस्तिका परीक्षण कार्य प्रायः सम्पन्न भइसक्थ्यो । भर्ना अभियानसहितका गतिविधिका कारण वैशाख दोस्रो सातापछि नै विद्यालयमा नियमित रूपमा पठनपाठन हुँदै आएको छ । यसपटक भने विद्यालयमा पठनपाठन सुरु भइसकेकाले उत्तरपुस्तिका परीक्षणका लागि समय व्यवस्थापनमा निकै कठिन भइरहेको सम्बद्ध शिक्षकहरू बताउँछन् ।
परीक्षामा न्यूनतम ३५ अंकभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । बोर्डले परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । अघिल्लो वर्ष अर्थात् २०८० सालमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए । बोर्डले गत वर्षबाट न्यूनतम ३५ प्रतिशतभन्दा कम प्राप्तांक ल्याउने विद्यार्थीहरू अनुत्तीर्ण हुने व्यवस्था लागू गरेको थियो । लेटर ग्रेडिङ भनिने उक्त प्रणाली लागू भएपछि त्यसअघिका वर्षहरूमा जस्तो परीक्षा दिएका सबैले प्रमाणपत्र पाउने प्रचलन अन्त्य भएको थियो ।