
पाल्पा, मुलुकमा लोकतन्त्र बहाली भएको १९ वर्ष पुगेको छ । जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको थियो । नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । जनताले जितेको दिन । देशभरका सडकमा लोकतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तनको नारा लागेको वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले आफू विजयी भएको दिनका रुपमा स्मरण गर्छन् । तर, लोकतन्त्र स्थापनाका लागि त्यतिबेला जनताले बगाएको रगत र पसिनाको उचित मूल्यांकन हुन भने सकेको छैन् ।
लोकतन्त्र आइसक्दा पनि, जनताकै प्रतिनिधिले संविधान बनाएर लागु भइसक्दा पनि र जनताकै लागि भनिएका दलहरू पटक–पटक सत्तामा पुग्दा पनि जनताको अवस्था उस्तै छ । भनिएको थियो, लोकतन्त्र आएपछि सब ठीक हुन्छ । संविधान आएपछि सब ठीक हुन्छ । हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेपछि चामत्कारिक परिवर्तन हुन्छ सम्म नेताले भन्न भ्याए । तर राज्य सञ्चालकहरु प्रतिको वितृष्णाले युवा पलायन भइरहेका छन्, महँगी, भ्रष्टाचार रोकिएको छैन । सुशासन नारामै सीमित छ । आज नागरिकमा व्यापक असन्तुष्टि छ ।
मुलुक तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुश शासन व्यवस्थाको अन्त्य भई लोकतन्त्र स्थापना भएको १९ औं वसन्तमा प्रवेश गरे पनि आम नागरिकमा निराशा मेटिएको छैन् । २०६२÷६३ को ऐतिहासिक १९ दिने जनआन्दोलनको बलमा आएको लोकतान्त्रिक व्यवस्थामा समेत दलले जनभावनाअनुसार काम गर्न नसकेपछि नागरिकमा निराशा कायमै रहेको हो । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको नेतृत्व गर्ने राजनीतिक दलहरूले जनअपेक्षा विपरीतका गतिविधिलाई प्राथमिकता राखेका छन् । जनचाहनाअनुरूप आएको नीति, विधिबाट देश चलाउने र जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने शासन प्रणालीका रूपमा स्थापित लोकतन्त्रमा शासकहरूले जनभावनाविपरीत गएर आफू अनुकूलका गतिविधिलाई केन्द्रीकृत गर्दा लोकतन्त्रको उपहास भएको आम बुझाइ छ । नागरिकमाथि राजनीतिक नेतृत्वबाट गरिएको शासनमा राजा र रैतीको भन्दा फरकपन नआएकै कारण नागरिकले वास्तविक लोकतन्त्रको अनुभूति गर्न नसकेको राजनीतिक विश्लेषक विधान श्रेष्ठले बताए । “नेपालमा लोकतन्त्र आयो तर, लोककल्याणकारी राज्य स्थापित हुन सकेन”, उनले भने– “यसले जनतामा पूरै निराशा छाएको छ । स्वास्थ्य, शिक्षा, रोजगार र सुशासनका पक्षमा भन्दा पनि दलहरूबाट राजा र रैतीकै चालचलन, व्यवहारहरू भइरहेका छन् । भ्रष्टाचारले सीमा नाघ्यो, रोजगारी दिने योजनाहरू सरकारसँग छैन ।
स्वदेशमै युवाहरू बस्ने अवस्था नदेखेर दैनिक विदेसिन बाध्य भएका छन् । यिनै कारणले गर्दा नागरिकहरू लोकतन्त्रमा पनि नकारात्मक भएका छन् ।” जनभावना र जनअपेक्षालाई बुझेर राज्य सञ्चालकले काम गर्न सक्नुपर्ने उनको भनाइ छ ।
हरेक वर्ष हर्षोल्लासपूर्वक दीप बालेर लोकतन्त्र दिवस मनाउने गरिए पनि दैनिक ज्याला मजदुरी गरी जीवन चलाउँदै आएका पाल्पाका श्रमिक तथा मजदुरहरुलाई भने चुलो बाल्नै हम्मेहम्मे छ । एउटा राजा फालेर गाउँ–गाउँमा सरकार पुग्ने गरी आएको संघीय लोकतान्त्रिक गणतन्त्र श्रमिक, मजदुरका लागि भने कागलाई बेलजस्तै भएको छ ।
“लोकतन्त्र आइसकेपछि हामी जस्ता मजदुरको लागि रोजगारीलगायत केही व्यवस्था हुनुपथ्यो । तर, केही भएन । नेताहरु आफैँ कुर्सीको लागि लड्दै ठीक्क छ” तानसेन बजारमा भेटिएका मजदूर प्रेम बूढाले भने । २०६० सालदेखि तानसेनमा भारी बोकेरै जिविकोपार्जन गर्दै आएका उनले भने “लोकतन्त्रको आन्दोलनमा हामी पनि सहभागी भयौं हो । तर, हाम्रा लागि भने केही भएन । यही भारी बोक्ने काम पनि पहिलेजस्तो पाइदैन । खोइ त हामीलाई सरकारले हेरेको ? भारी नबोके खाने अर्को उपाए छैन ।” उनी जस्तै धेरै श्रमिकहरुको अवस्था उस्तै छ । देशका नागरिकले लोकतन्त्र आएको महसुस गर्नुपथ्यो तर,उनीहरुले लोकतन्त्रको महसुस गर्न सकेका छैनन् । लोकतन्त्र आएपछि केही राम्रा काम नभएका होइनन् । तर, जनताले जति आशा गरेका थिए त्यस अनुसारको उपलब्धी उनीहरुले महसुस गर्न सकेनन् । रोजगारीदेखि आर्थिक विकासको विषयमा देशले गति लिन नसकेकै कारण आम जनतामा निरासै निराशा छाएको छ ।