
पाल्पा, अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले पाल्पामा दुई गाडिसहित ११ गोरु नियन्त्रणमा लिएको छ । जिल्लाको रामपुर नगरपालिका –१ काँशीवनस्थित कालिगण्डकी करिडोर सडक खण्डबाट प्रहरीले गाडी, गाडी चालकसहित ११ गोरु नियन्त्रणमा लिएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २१ च ८९२८ र प्रदेश २–०३ ००१ च ३३५६ नम्बरको पिकअप गाडीलाई प्रहरीचौकी केलादीबाट खटिएको प्रहरी टोलीले शंका लागि रोकेर चेकजाँच गर्ने क्रममा गोरुसहित गाडी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिए । उनका अनुसार बा २१ च ८९२८ नम्बरको पिकअपमा ५ वटा र प्रदेश २–०३ ००१ च ३३५६ नम्बरको पिकअपमा ६ वटा गोरुहरु क्षमता भन्दा बढी कोची घाउ चोट लाग्ने गरी निर्दयीपूर्वक यातना दिई ल्याइएको अवस्थामा नियन्त्रणमा लिइएको हो । चालक मकवानपुर हेटौडा उप– महानगरपालिका– १७ का २८ वर्षीय सिशान थिङ र बारा जितपुरसिमरा उप–माहनगरपालिका– २ का २२ वर्षीय महेश भोलान प्रहरीको नियन्त्रणमा छन् । गाडी र उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।