
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन नेता पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा छलफल पछि बाहिरिने क्रममा उनीहरूले विभिन्न नारा लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए । निषेधित क्षेत्र तोड्ने लक्ष्यसहित सडकमा कार्यकर्ताहरूले प्रदर्शन जारी गरिरहेका बेला सांसदहरूले भने सिंहदरबारभित्र प्रदर्शनमा उत्रिएका हुन ।
सोही क्रममा राप्रपा सांसदहरूको पम्प्लेट प्रहरीले खोसेका थिए । यद्यपि उनीहरूका गतिविधि शंकास्पद देखिन थालेपछि प्रहरीले भ्यानमा राखेर बाहिर ल्याएको छ । पक्राउ परेका तीनै जनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको प्रहरीले जानकारी दिएको छ । राप्रपाको आज निषेधित क्षेत्र तोड्ने योजनाका साथै प्रदर्शनसँगै गिरफ्तारी दिने तयारी थियो ।