
पाल्पा, लामो समयको खडेरीपछि वर्षा हुँदा किसान उत्साहित भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका पाल्पा र गुल्मीका किसानहरु वर्षा भएपछि उत्साहित भएका हुन् ।
वैशाख लागेसँगै वर्षा हुन थालेपछि यहाँका किसानलाई राहत पुगेको छ । वर्षाले आकासे पानीको भर पाखो बारीमा खेती गरिने मकै, अदुवा, पिँडालु, हलेदो र तरकारी खेतीलाई सहयोग पुर्याएको छ । विशेषगरी बारीमा मकै छर्ने तयारीमा रहेका किसानहरु खुसी भएका छन् । पानी नपर्दा मकै छर्न नपाएकाले छर्न पाएको र छरेका मकै खडेरीले सुक्न लागेका बेला वर्षाले किसानलाई राहत मिलेको हो । कुलो, नहर, थोपाइ सिँचाइ माध्यमबाट सिँचाइ हुने जग्गामा पानीको अभाव नभए पनि पाखो बारी, सिँचाइ नलाग्ने जग्गामा लगाएका बाली खडेरीले मर्न लागेका थिए । लामो समय समयसम्म खडेरी पर्दा समय घर्किने पिरमा परेका कृषक हाल पानी परेपछि राहत महसुस गरेको बताएका छन् । चैत अन्तिमसम्म पनि पानी नपर्दा मकै धेरैले छर्न नपाएकोमा पानी परेपछि पाल्पा, गुल्मीसहित पहाडी जिल्लाका किसानलाई छर्न चटारो छ । हिजो आज वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको गुल्मी इस्मा गाउँपालिका–२ का किसान लोकनाथ आचार्यले बताए ।
उनले भने,“लामो समयको खडेरीपछि पानी परेको छ, अब बारीमा मकै छर्ने तयारी गर्दैछौं ।” सिँचाइका लागि आकासे पानीमा निर्भर रहेका किसानका लागि अहिलेको पानीले खुसी दिएको छ । “बारीमा छर्ने बेला भएको थियो, पानी नपर्दा छर्न पाएका थिएनौं, ढिलाइ भए पनि छर्न पाउने भयौं” पाल्पाको रिब्दीकोट गाउँपालिका सिरुखर्ककी अञ्जु थापाले भनिन् । सुख्खा रहेका खेतबारी वर्षाले अहिले चिस्यान भएको उनले बताईन् । थापाले बारीमा लगाएको तरकारीलाई अहिलेको वर्षाले राहत मिलेकोमा खुसी व्यक्त गरिन् । लामो समयसम्मको खडेरीले खेतबारीमा लगाएका तरकारी समेत फस्टाउन पाएका थिएनन् अब फस्टाउनेमा उनी आशावादी छन् ।
पाल्पा, गुल्मीसहित पहाडी जिल्लाका अधिकांश ठाउँमा मकै लगाउने समय भएकाले पानी परेपछि किसानले त्यसको तयारी गरेका छन् । खेतमा मकै छरिसकेका किसान पनि वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् । अहिले गुल्मी र पाल्पाका अधिकांस बारीमा गहुँ पाकेको छ भने केही ठाउँहरुमा गहुँ, स्याहारेर म कै छर्ने तयारीमा किसान छन् । जिल्लामा सबैजसो ठाउँमा सिँचाइको पर्याप्त व्यवस्था नहुँदा किसानहरु आकासे पानीमा भरपर्नु पर्ने बाध्यता छ ।