
पाल्पा, आज अप्रिल १२ अर्थात् अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तरिक्षयात्री यूरी गागरीनले सन १९६१ म भोस्तोक १ नामक अन्तरिक्ष विमानबाट पृथ्वीको अर्विटमा चक्कर लगाउन सफल भएको दिनको सम्झनामा अप्रिल १२ मा यो दिवस मनाउँदै आइएको हो ।
सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र संघको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको थियो । रुसले यस दिवसलाई कसमेनोटिक्स डे का रूपमा मनाउँदछ भने पूर्व सोभियत संघका कतिपय राज्य र ठाउँहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर मनाउने चलन पनि छ । आजको दिनले मानव अधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्दछ । आज अन्तर्राष्ट्रिय स्तरमा अन्तरिक्ष युगको सुरुवात गरेका युरी गागारिनको सम्झना गरिन्छ । युरी गागारिनको त्यो सफलता पछि उनलाई त्यसबेला विभिन्न सम्मानहरू प्रदान गरिएको थियो । संयुक्त राष्ट्र संघको अन्तरिक्षको मुद्दा हेर्ने कार्यालयले सबै स्पेस अन्वेषकहरूबाट सन्देशहरूको संकलन गरेर सबै माझ अद्यावधिक जारी गर्दछ । आजको दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर गरेको छ ।