
पाल्पा, हनुमानको आज जन्मजयन्ती मनाइँदैछ । चैत्र शुक्ल पूर्णिमाका दिन हरेक वर्ष रामदूत हनुमानको जन्मजयन्ती मनाउने गरिन्छ । सनातन धर्मका अनुयायीले यो मनाउने गर्छन् ।
चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सड्ढटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ । रामायण कथाहरू, पात्रहरू अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रूपमा देखिन्छन् । रामभक्त अनि बलवान हनुमानलाई बल र शाहसको पर्यायका रूपमा पनि अभिव्यक्त गरिएको पाइन्छ । आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना गर्नुका साथै शोभायात्रा निकालिन्छ । पौराणिक कथामा उल्लेख भएअनुसार अञ्जानेरी पर्वतमा जन्मिएका हनुमानकी आमा अञ्जना एउटी अप्सरा हुन् । जो आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतिका छोरा केशरी हुन् । हनुमानलाई पवन पुत्र पनि भनिन्छ । आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए । त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ ।