Shittalpati
ओझेलमा ‘जनआन्दोलन दिवस’

पाल्पा, नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा हरेक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाउने गरिन्छ । वि.स. २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । सोही दिनलाई स्मरण गर्दै मनाइने जनआन्दोलन दिवस पछिल्ला वर्ष भने ओझेलमा पर्दै गएको छ । राजनीतिक दल, नेता एवम् सर्वसाधारणले दिवसलाई बेवास्ता गर्दा ओझेलमा पर्दै गएको हो ।

विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित सरकारलाई अपदस्त गरी निरंकुश शासनको सुरुवात् गरेपछि ३० वर्ष लामो सङ्घर्षले २०४६ साल चैत २६ मा प्रजातन्त्रको पुनःस्थापना भएको थियो । वि.स. २०४७ देखि दोस्रो जनआन्दोलन २०६२/६३ सम्म जनआन्दोलन दिवसका रुपमा चैत २६ लाई मनाइन्थ्यो । सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको थियो । दोस्रो जनआन्दोलनपछि मुलुकमा गणतन्त्र स्थापना भएसँगै वैशाख ११ लाई लोकतन्त्र दिवस र जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउने प्रचलनसँगै चैत २६ को जनआन्दोलन दिवस ओझेलमा पर्दै गएको समेत अनुभूति गर्न थालिएको छ । यसवर्ष दिवस मंगलबार परे पनि कुनै पनि कार्यक्रम भएनन् । विभिन्न राजनीतिक दल, संघसंस्थाहरुले गरेको आन्दोलनका कारण पनि यस वर्षको जनआन्दोलन दिवस ओझेलमा पर्न गएको हो । पछिल्लो केही समययता काठमाडौंमा एकपछि अर्को आन्दोलन भइरहेका छन् । चैत लागेसँगै व्यवस्था पक्षधरसहित विरोधी र अन्य केहीले आ–आफ्ना माग लिएर सडकमा आएका हुन् । चैत १५ गते एकैदिन काठमाडौंमा राजसंस्था पक्षधर र गणतन्त्र पक्षधरको जनसभा भएको थियो । राजसंस्था पक्षधरको सभा हिंसात्मक बनेपछि ठूलो क्षतिसमेत भएको थियो । त्यसयता राजसंस्था पक्षधर आन्दोलनमै छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंको बल्खुमा आमसभा ग¥यो । राजसंस्था पक्षधर आन्दोलित भइरहँदा देशभरका शिक्षकहरू समेत चैत २० गतेदेखि काठमाडौंमा आन्दोलित छन् । यी आन्दोलनका कारण पनि यस वर्ष दिवसका कार्यक्रमहरु हुन सकेनन् । जनआन्दोलनको भावना र मर्म बिर्संदै गएका दलले औपचारिक कार्यक्रम गर्न समेत छाडेका छन् । ०४६ को जनआन्दोलन मात्र होइन, ०६२÷६३ को दोस्रो जनआन्दोलनले पनि राजनीतिक परिवर्तन ल्याएको थियो । पहिलोले राजाले लादेको पञ्चायती व्यवस्थालाई बहुदलीय व्यवस्थामा रूपान्तरण र राजाको निरंकुशता अन्त्य गरेको थियो । राजाले फेरि आफूमा अधिकार केन्द्रित गर्न खोज्दा दोस्रो जनआन्दोलनले २ सय ४० वर्षदेखि एकछत्र राज गर्दै आएको राजतन्त्र नै उखेलिदियो । यी दुवै जनआन्दोलनलाई जनताको अधिकार प्राप्तिको महत्वपूर्ण कोसे ढुंगाका रूपमा स्मरण गर्नुपर्ने काँग्रेस नेता राजेन्द्र गोपाल सिहंले बताए । जनआन्दोलनमा जनताको योगदान र बलिदान महत्वपूर्ण रहेकाले बिर्सन नहुने उनी बताउँछन् ।

नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त वाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरु भएको थियो । यो आन्दोलन विसं २०४६ चैत २६ गते सुरु भएको हो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापना गरेका थिए । विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update