Shittalpati
गुल्मीको तम्घासमा आजदेखि कांँग्रेसको तेस्रो जिल्ला सम्मेलन

गुल्मी,  नेपाली काँग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन आजदेखि जिल्लाको सदरमुकाम तम्घासमा हुँदै छ । “एकता, विकास समपर्ण : समुन्नत गुल्मीका लागि काँग्रेसको प्रण” भन्ने मुख्य नारासहित काँग्रेसले जिल्ला सम्मेलन गर्न लागेको हो ।

सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला सभापति खिलध्वज पन्थीले जानकारी दिए ।  उनका अनुसार सम्मेलन दुई चरणमा हुने छ । उद्घाटन सत्र र बन्द सत्र गरी सम्मेलन हुने सभापति पन्थीले बताए । 

नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको दिन “जनआन्दोलन दिवस” को अवसर पारेर सम्मेलन गर्न लागिएको पार्टी सचिव जगदीश भट्टराईले बताए । सम्मेलनको पहिलो दिन आज उद्घाटन सत्र तम्घासस्थित चिदिचौर खेलमैदानमा हुने छ भने दोस्रो दिन (बुधबार) बन्द सत्र जिल्लास्थित पार्टी कार्यालय, एभरग्रीन पार्टी प्यालेस र इन्द्रेणी पार्टी प्यालेसमा गरिनेछ । बन्द सत्रमा जिल्लाका चार प्रदेश सभाका छुट्टा–छुट्टै छलफल गरिने सचिव भट्टराईले बताए ।  

सम्मेलनलाई सम्बोधन गर्न काँग्रेसका केन्द्रीय नेताहरु गुल्मी आएका छन् । काँग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू डा.मिनेद्र रिजाल, सांसद डा.चन्द्र भण्डारी, चन्द्र बहादुर केसी, अजयबाबु सिवाकोटी, प्रदेश सभापति अमरसिंह पुनलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको अर्को पार्टी सचिव भगतसिंह खड्काले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन जिल्लाका टोल–टोलबाट काँग्रेसमा आस्थावान नेता कार्यकार्ता समेत आज तम्घास आउँदै छन् । सम्मेलन पार्टीको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै सङ्गठनलाई सशक्त क्रियाशील बनाउने विषयमा केन्द्रित रहनेछ । सम्मेलनको माध्यमबाट वैचारिक छलफललाई सूक्ष्म रुपमा अगाडि बढाइने काँग्रेसले जनाएको छ । दोस्रो दिनको बन्द शत्रको कार्यक्रममा एक हजार ७ सय४६ क्षेत्रीय प्रतिनिधि सहभागी हुने सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update