
बलेवा, बागलुङको निसी, भुजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि भेडापालनमा सक्रिय छन् । पहाडी भेग भएकाले पशुपालनमा रमाइरहेका यहाँका स्थानीय किसान पछिल्लो समय भेडाको मासुसँगै ऊनको समेत उपयोगमा लाग्न थालेका हुन् ।
निसीखोला गाउँपालिका–५ पुतली बजारकी ५७ वर्षीया पुनीकला घर्तिमगरको दैनिकी आजभोलि फेरिएको छ । पुतली बजारमा चलिरहेको ऊनको धागो बनाउने र कपडा तयार गर्ने तालिममा उनको दिन बित्छ । बिहान–बेलुका घरको काम सकेर १० नबज्दै उनी पुतली बजार पुग्छिन् । गाउँबाट सड्ढलन गरेको भेडाको ऊनलाई सफा गर्ने, कोर्ने, बाँट्नेदेखि तानमा कपडा बनाउनेसम्मका काम उनले सिकिरहेकी छन् । पुनले सानो छँदा गाउँमा ऊनका कपडा बनाउने गर्थिन् । उनको बाल्यकाल गाउँमै बनेका ऊनका कपडा लगाएर बित्यो । बिस्तारै विश्व बजारका कपडा गाउँ पुगे । ऊनका कपडा बनाउने काम छाड्दै गए । ‘हिजोआज ऊनको कपडा खस्रो हुन्छ भनेर लाउनै छोडे, बनाउनेले पनि छाडे’, पुनिकला भन्छिन्, ‘बजारतिर उनका कपडा खोजी हुन्छ भन्ने सुनेको छु, पहिला सिकिएन, बूढेसकालमा भए पनि दिन कटाउने बाटो होला भनेर ऊनका कपडा बनाउन सिकिरहेको छु’, उनले भनिन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनेका कपडाको बिक्री वितरण बिस्तारै सेलाउन थालेपछि यहाँका महिला समूहमा आबद्ध भएर भेडाको ऊनबाट तयारी सामग्री बनाउन सिक्दैछन् । जिल्लाको निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सञ्चालन गरिरहेको दिगो पर्यटन परियोजनाले उनीहरुलाई तालिमको व्यवस्था गरेको छ । रुकुमको टकसेराबाट आएका महिला प्रशिक्षकले निसीखोलाको पुतली बजारमा १३ र ढोरपाटनको सुपुर्दुङमा १३ महिलालाई ऊन निकाल्नेदेखि कपडा तयार गर्नेसम्मको काम सिकाइरहेका छन् । खेर गइरहेको ऊनलाई प्रयोगमा ल्याउन सके आम्दानी गरौँला, नभए घरको काम त चल्छ’, ढोरपाटन–९ सुपुर्दुङकी २१ वर्षीया आशा घर्तिमगरले भनिन्, ‘पहिलाभन्दा अहिले प्रविधिले सजिलो बनाएको छ, बजार पनि उनका कपडाको राम्रो छ भनेका छन् ।’ गाउँमा खस्रो कपडा भनेर प्रयोगमा आउन छाडेको ऊनका कपडा दशक अगाडिसम्म गोठालाले बढी प्रयोग गर्ने गरेकामा अहिले विदेशमा पुग्ने गरेको छ । भेडाको ऊनबाट बन्ने काम्लो, बख्खु, घुमलगायत कपडाले घामपानी छेक्ने, वर्षौं टिक्ने र न्यानो हुने उनीहरु बताउँछन् । कम्बल, बख्खु, घुमलाई गोठालाको कपडा भन्ने गरिन्छ । ढोरपाटन र निसीखोलामा एउटै परिवारले रु ५०० देखि एक हजार ५०० सम्म भेडाबाख्रा पाल्ने गरेका छन् । ती भेडाबाट प्रत्येक वर्ष निकाल्न सकिने ऊनको प्रयोगमार्फत महिलालाई आयआर्जनसँग जोड्नेगरी सीपमूलक तालिम सञ्चालन गरिएको दिगो पर्यटन परियोजनाका समूह संयोजक अमर थापाले बताए । मासु स्थानीयस्तरमा बिक्री हुने र ऊनको पनि स्थानीय तथा विदेशी बजारमा समेत निर्यात गर्नेगरी उत्पादनमा प्रेरित गरिने उनले बताए । एउटा काम्लो, हापदुला बुन्न समय बढी लाग्छ ।
एउटा ऊनको कपडाको मूल्य न्यूनतम रु १५ हजारदेखि रु ६० हजारसम्म पर्छ । महिलाहरुलाई तालिमका लागि प्रशिक्षक, आवश्यक उपकरण, ऊन र खाजा खानाको व्यवस्था परियोजनाले मिलाएको छ । तालिमपछि तयार हुने सामग्रीको बजारीकरणमा महिलाहरुले समूह बनाउने बताउँछन् । ऊनको प्रयोग नभएकाले चरीचरण क्षेत्रमा नै किसानले ऊन निकालेर फाल्ने गरेकामा स्थानीय महिलाको सक्रियताले ऊनको प्रयोग बढ्ने प्रशिक्षक रमी बुढा मगरले बताइन् । उनीहरुले किसानबाट सेतो ऊन प्रतिकिलो रु ५० र कालो ऊन प्रतिकिलो रु १०० मा खरिद गर्ने गरेका छन् । बजारमा कालो ऊनको तयारी कपडा सेतो र खैरो ऊनको भन्दा दोब्बर पर्छ ।