कृष्ण पोखरेल
पाल्पा । सेवाग्रहीले बैंकबाट पैसा झिक्ने र जम्मा नगर्दा जिल्लामा सञ्चालित बैंकहरुमा डिपोजिट हुन सकेको छैन । लामो समयको लकडाउनका कारण आय–आर्जनको स्रोत नभएपछि सेवाग्रहीले बैंकमा जम्मा गरेको रकम धमाधम निकाल्न थालेपछि बैंकमा डिपोजिट हुन नसकेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुमा ९० प्रतिशत ग्राहकहरुले रकम झिक्ने र १० प्रतिशतले मात्र जम्मा गर्ने गर्दा डिपोजिट हुन सकेको छैन । बचत रकम झिक्ने मात्र बढेपछी बैंकका लगानीकर्ता देखि कर्मचारीहरु चिन्तित भएका छन् । बैंक तथा वित्तीय संस्थामा मुद्दती रकम बाहेक अन्य खाताको रकम रित्तिदै गएको छ । जसको कारण बैकहरुलाई कर्जा प्रवाहमा समस्या पर्ने देखिएको छ । कोरोना सक्रमणबाट बच्न र बचाउन पाल्पामा हप्ताको ३ दिन मात्र बैक तथा वित्तीय संस्था खुल्दै आएका छन् । जिल्लामा ३ दिन मात्र बैक तथा वित्तीय संस्था सञ्चालनमा आएपछी भिडभाडको कारण विहान ९ बजे देखी ग्राहकहरु पैसा झिक्न लाईनमा बसेका हुन्छन् । लकडाउनको समयमा काम धन्दा बन्द भएको, उद्योग धन्दा कलकारखाना, सरकारी तथा गैर सरकारी संस्था बन्द रहेकाले सर्वसाधारणले काम गर्न नपाएकाले बैंक तथा वित्तीय संस्थामा जम्मा गरेको रकम खर्च गर्दै आएका छन् । पैसा नभई भएन, बैंक नआई भएन, भिडभाडमा बसेर भएपनि रकम निकाल्न आएको तानसेन नगरपालिका ७ बारुदखानका विष्णु प्रसाद अधिकारीले बताए । घरमा राखेको सिमित रकम सकिएपछि घरयासी खर्चको लागि सर्वसाधारणहरु बैंक धाउन बाध्य भएका हुन । पैसा झिक्न सर्वसाधारणहरु बैक काउण्टर देखी आधा किलोमिटर सम्मको लाईनमा बस्दै आएका छन् । सर्वसाधरणको लामो भिडका कारण बैंकका कर्मचारी तथा सुरक्षा गार्डलाई समेत भिड नियन्त्रण गर्न हम्मेहम्मे भएको छ । बैंकबाट निकालेको रकम गाउँमा गएर खाद्यान्य सरसमान किन्ने माथागढी ८ बहादुरपुरका जेत्तरबहादुर रानाले बताए । रकम जम्मा गर्ने भन्दा पनि पैसा निकाल्ने ग्राहकहरु अत्याधिक रहेको वाणिज्य बैकहरुले बताएका छन् । रकम झिक्ने यो प्रवृत्तिले अर्थतन्त्र धरासायी हुने भन्दै बंैकहरु चिन्तित भएका छन् । यो अवस्थाले बैकहरुलाई अरवांै रकम नोक्सान हुने सर्वेक्षण गरिएको छ । जसको कारण प्रत्यक्ष रुपमा नेपालको सामाजिक आर्थिक विकासमा नकारात्मक प्रभाव पार्ने, उद्योग कलकारखाना तथा रोजगारीमा प्रत्यक्ष असर गर्ने राष्ट्रिय वाणिज्य बैंक पाल्पा शाखाका प्रमुख पारसमणी घिमिरेले बताए ।
बैंकहरुमा रकम रित्तिदै जानु, सरकारले सहुलियत दरमा कृषकलाई ऋण उपलब्ध बजेट मार्फत घोषणा गरे पनि रकम अभावमा बैकहरुले पर्याप्त मात्रामा लगानी गर्न नसक्ने अवस्था आउने होकी भन्दै बैक तथा वित्तीय संस्थाका सञ्चालकहरु चिन्तित भएका छन् । घर तथा गोजीको रकम सकिएपछी सर्वसाधारणहरु जोखिम मोलेरै बैक तथा वित्तीय संस्थामा धाउन बाध्य भएका हुन् । त्यस्तै सहकारी संस्थाहरुको अवस्था पनि उस्तै छ । लामो समयको लकडाउनका कारण सहकारी संस्थाहरुमा पनि रकम डिपोजिट हुन सकेको छैन । सबै व्यवसायहरु ठप्प भएपछि सहकारीहरुमा समेत डिपोजिट हुन नसकेको हो ।