 
                                                                    
आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरसम्बन्धी जनचेतनामूलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । क्यान्सर लागेमा निको हुँदैन भन्ने धारणा आम मानव समुदायमा रहेकोमा रोग लागेको छोटो समयमा उपचार थालियो भने रोकथाम गर्न सकिन्छ भन्ने सचेत पार्न विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष दिवस मनाउँदै आइएको छ । नसर्ने रोगको जोखिम बढिरहँदा क्यान्सरको पनि जोखिम बढ्दै गएको छ । अस्पतालमा आउने बिरामीमध्ये महिलाहरूमा पाठेघरको मुखको क्यान्सर र पुरुषहरूमा फोक्सोको क्यान्सर बढी देखिने गरेको छ । ग्लोबल क्यान्सर अब्जरबेटरीका अनुसार नेपालमा क्यान्सरका नयाँ बिरामी पत्ता लाग्नेमध्ये सबैभन्दा बढी १६ दशमलव ४ प्रतिशतमा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ भने १३ दशमलव ९ प्रतिशतमा स्तन क्यान्सर हुने गरेको छ । यसैगरी १० दशमलव ४ प्रतिशतमा फोक्सोको क्यान्सर देखिने गरेको छ । यो रोग नेपाल लगायत विश्वभर एउटा ठूलो स्वास्थ्य चुनौतीका रूपमा रहेको छ ।
नसर्ने प्रकृतिका रोगमध्ये क्यान्सर एउटा डरलाग्दो रोग हो । क्यान्सर ढिलो गरी पत्ता लागे उपचार नै हुन कठिन हुने गर्दछ । सुरुवाती अवस्थामा नै पत्ता लगाई उपचार गर्न सके पूर्ण रूपमा निको हुन सक्ने चिकित्सक बताउँछन् । नेपालमा पछिल्लो समय क्यान्सर एक भयावह जनस्वास्थ्य समस्याको विषय बनेको छ । आहारविहार, शारीरिक व्यायाम, मद्यपान र धूम्रपानको प्रयोगले पनि क्यान्सर रोगको संख्या बढाइरहेको छ । क्यान्सर यसरी भयावह रूपमा फैलनुमा जनमानसमा स्वास्थ्यसम्बन्धी जानकारीको कमी, स्क्रिनिङका कार्यक्रम नहुनु वा भए पनि ढिलो हुनु, सामाजिक आर्थिक रूपमा स्वास्थ्य सेवा पहुँचबाहिर हुनु, स्वास्थ्य सेवा प्रवाह सामञ्जस्यविहीन हुनुजस्ता कारणले भूमिका खेलेका छन् । जसका कारण नेपालमा क्यान्सर उपचारको नतिजा कमजोर देखिन्छ । खानपान, आनीबानीमा परिवर्तन गरेर क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । तसर्थ क्यान्सरजस्तो घातक रोग लाग्नै नदिने  उपाय र सचेतना  बढाउन सके मात्र हरेक वर्ष मनाईने क्यान्सर दिवसले सार्थकता प्राप्त गर्दछ । 


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    