Shittalpati
पाल्पामा काँग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्दै

पाल्पा, नेपाली काँग्रेस पाल्पाले महाधिवेशनका लागि पहिलो सर्त मानिएको क्रियाशील सदस्यता नवीकरणको कार्य अगाडि बढाएको छ । केन्द्रीय निर्देशन अनुसार काँग्रेसले जिल्लामा सदस्यता नविकरणको तयारी थालेको हो । 

‘डिजिटल सदस्यता’ सम्भव नभएपछि केन्द्रबाटै सदस्यता कार्ड र फारम प्रिन्ट गरी जिल्लाा वडा तहसम्म पुर्‍याउन थालिएको छ । सदस्यता नविकरणका लागि जिल्लाले क्षेत्रिय समितिलाई फारम पठाइसकेको छ । उक्त फारमहरु क्षेत्रिय समितिहरुले तल्लो तहका निकायहरुलाई बुझाएका छन् । शनिबार नेपाली काँग्रेस प्रतिनिधि सभा  क्षेत्र नं. १ र २ ले छुट्टाछुट्टै कार्यक्रम गरी सम्बन्धित प्रदेश क्षेत्रका सभापति तथा प्रतिनिधिहरुलाई उक्त फारम हस्तान्तरण गरेका छन् । क्षेत्र नं. २ ले तानसेनमा १०० दिने विशेष अभियान तथा क्रियाशिल सदस्यता नविकरण फारम हस्तान्तरण कार्यक्रम गरी फारम सम्बन्धित तहमा पठाएको छ । कार्यक्रममा क्षेत्रिय सभापति मुक्तिराम जिसी र प्रमुख अतिथि काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले क्षेत्र नं .२ अन्तर्गतका  प्रदेश क्षेत्रिय सभापतिहरु रुक्मागत भट्टराई र लक्ष्मी अधिकारीलाई सदस्यता नविकरण फारम बुझाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला सभापति श्रेष्ठले संगठनलाई बलियो बनाउन  सदस्यता नविकरणमा सक्रिय भएर लाग्न सम्बन्धित तहका नेताहरुलाई आग्रह गरेका छन् । उनले पार्टीमा लाग्ने जो कोहीको पनि आ–आफ्नो मिसन  हुने र त्यो मिसन पुरा गर्नकै लागि भए पनि पार्टी संगठनमा दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए । सभापति श्रेष्ठले भने राजनीतिक गर्ने व्यक्ति कुनै न कुनै मिसन लिएर अगाडि बढेका हुन्छौं, कोही वडा अध्यक्ष बन्ने, कोही पालिका सभापति बन्ने, कोही क्षेत्रिय सभापति बन्ने, कोही प्रदेश त कोही केन्द्रीय नेतृत्वमा त कोही मन्त्री, सांसद बन्ने मिसनमा छौं, त्यो मिसन पुरा गर्नको लागि हामी पार्टी र संगठनमा दत्तचित्त भएर लागौैं ।’ कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य राम कार्कीले क्रियाशिल सदस्यता वितरण गरेपछि सबै सदस्यलाई प्रशिक्षणको आवश्यक हुने र सोही प्रशिक्षणका लागि  पार्टीले ध्यान दिनुपर्ने बताए ।

जिल्ला उपसभापति झपेन्द्र गहिरेले अझै पनि ग्रामीण क्षेत्रका नागरिकलाई  वडाको सिफारिस लिन सकस रहेको भन्दै त्यसलाई समाधान गर्न वडा तहमा पार्टीको नेतृत्व गर्नेहरुलाई ध्यान दिनुपर्नेमा जोड दिए । महासमिति सदस्य कृष्ण बस्यालले विगतका दिक्ताहरुलाई विर्सेर संगठन बलियो बनाउने दिशामा लाग्न सबै नेतृत्वलाई आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस बगनासकालीका सभापति ठानेश्वर तिमिल्सीना, तिनाउका सभापति प्रेम पाण्डे, रिब्दीकोटका कार्यवाहक सभापति चन्द्रमणी पोखरेल लगायतले  हरेक कार्यक्रमहरु जिल्ला केन्द्रीत भएकाले अब गाउँ केन्द्रीत गर्न जिल्ला र क्षेत्रिय नेतृत्वलाई आग्रह गरे । क्षेत्रिय सभापति मुक्तिराम जिसीले जिल्ला र केन्द्रको निर्देशन अनुसार आफुहरुले काम गर्दै आएको बताए । उनले अहिले क्रियाशिल सदस्यता नविकरणका लागि  क्षेत्र अन्तर्गतका क्षेत्रिय समितिका सभापतिमार्फत पालिकाहरुमा र पालिकाका सभापतिहरुमार्फत  फारमहरु वडामा पुग्ने बताए । सभापति जिसीको अध्यक्षता, प्रदेश सदस्य अधिवक्ता महेन्द्र पाण्डेको स्वागत, सचिव कृष्ण आलेको सञ्चालनमा कार्यक्रम भएको थियो । उता क्षेत्र नं . १ ले पनि शनिबार नै फारमहरु सम्बन्धित तहलाई बुझाएको छ । काँग्रेसका निवर्तमान जिल्ला सभापति एवं लुम्बिनी प्रदेशका सांसद विरबहादुर राना र क्षेत्रिय सभापति झमनबहादुरराज मगरले  सम्बन्धित क्षेत्रलाई फारम हस्तान्तरण गरेका हुन् । फारम हस्तान्तरण गर्दै प्रदेश सांसद रानाले पार्टीलाई थप सशक्त बनाएर लैजान सबै वडादेखि पालिका सबै नेतृत्वलाई आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update