पाल्पा, पाल्पा लगायत देशभर ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्दै शनिबार पाल्पा लगायतका देशभर उनको शालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरी मनाईएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको आयोजनामा तानसेनमा एक कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । कार्यक्रममा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शालिकमा माल्यार्पणसँगै पुष्पगुच्छा अर्पण गरिएको थियो । कार्यक्रममा जिल्लाका राजनीतिक दल, नागरिक समाज, पत्रकार, स्थानीय व्यक्ति, जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा राप्रपा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य नारायण कोइरालाले मुलुक एकिकरण गर्न र देश विकासको चिन्तन गर्नमा दुई जना व्यक्ति सधै इतिहासमा रहिरहने बताए । उनले पृथ्वीनारायण शाह र विपी कोइरालाको योगदानको चर्चा गर्दै यी दुई व्यक्तिलाई इतिहासमा सधै सम्झिने उल्लेख गरे । कोइरालाल पृथ्वीनारायणले टुक्रे राज्यहरुलाई एकिकरण गरी नेपाल निर्माण गरेकाले आज हामी सबै नेपाली भएर बाच्ने अवसर प्राप्त भएको बताए ।
राप्रपा जिल्ला अध्यक्ष डुल बहादुर कुवँरले पृथ्वी नारायण शाहको दिप्यदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । उनले शाहको योगदानलाई राजनीतिसँग मात्र जोडेर हेर्न नहुने उल्लेख गरे । कुंवरले राष्ट्र निर्माणमा शाहको योगदान राजनीतिक व्यवस्था भन्दा धेरै माथि रहेको पनि बताए ।