Shittalpati
पृथ्वीनारायण शाहको योगदानको सम्झना गरिदैं

पाल्पा,राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । प्रत्येक वर्ष पुस २७ गते जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै शाहको सम्झना गर्ने गरिन्छ ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाईसे, चौबीसे राज्यलाई एकीकृत गरेका थिए । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको इतिहास छ । इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरे । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम  हुँदै छन् । यस अवसरमा  नेपाल सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

राज्यहरूको एकीकरण र राष्ट्र निर्माणमा शाहले देखाएको बहादुरीको इतिहास धनशक्ति वा सैन्यशक्तिभन्दा इच्छाशक्ति अपराजित हुन्छ भन्ने शाश्वत सत्य–सन्देश हो । राष्ट्र निर्माण गर्दा पृथ्वीनारायण शाहले इच्छाशक्ति मात्र होइन, युक्ति र भक्ति पनि जुटाए र एउटा अदम्य साहस पैदा भयो । त्यसले सबै असम्भवलाई सम्भव बनाएको थियो । जटिलता र चुनौतीलाई अवसरमा बदल्यो । ‘आफ्नो साम्राज्यमा कहिल्यै घाम नअस्ताउने’ महाशक्ति बेलयायतसँग लडाइँमा भिड्नु सामान्य साहस थिएन । उत्तरको तत्कालीन तिब्बत र चीन पनि गोर्खाभन्दा अतुलनीय साधनसम्पन्न र शक्तिशाली थिए । तैपनि पुर्खाले हामीलाई एउटा स्वाभिमानी र स्वाधीन राज्य मात्र दिएनन्, वीरताको पर्यायवाची विश्वव्यापी पहिचान ‘गोर्खाली’ पनि दिए । भारत र बेलायती सेनामा भर्ती हुन जाने नेपालीले पाएको ‘द गोर्खाज्’ संज्ञा एवं गोर्खाल्यान्ड राज्यका लागि भारतीय आन्दोलन नेपाल एकीकरणको उत्तरदान हो ।

शाहले मुलुकमा अन्याय हुन नदिनु ,सधैँ गुणको होइन नुनको पछि लाग्नु ,सुरक्षा निकाय र जनताप्रति बफादार रहनु,जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो,आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ , सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नु, नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ,अदालतको पैसा दरबारमा नलैजानु र त्यसको सदुपयोग, जोगी, संन्यासीलाई भोजन गराउनु,खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानी चलाउनुपर्छ र उब्जनीयोग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ भन्ने जस्ता दिव्य उपदेश दिएका थिए ।  जुुन दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा भएको प्रष्ट हुन्छ ।  उनको  माघ १ गते ५२ वर्षको उमेरमा  निधन भएको थियो ।

 

 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update