पाल्पा, सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारदेखि लागू हुने गरी नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको सहमतिमा अन्तरप्रदेश सार्वजनिक यातायातका सवारी साधनका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर समायोजन गर्दै भाडा बढाइएको हो ।
यात्रुवाहक सवारीसाधनमा साविकको भाडामा ३ दशमलव ३० प्रतिशत भाडा वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ० दशमलव ८१ र तराईमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ० दशमलव ०५ प्रतिशत भाडा वृद्धि गरिएको छ । नयाँ भाडादर सबै अन्तरप्रदेश छोटो, मध्यम र लामो दूरीका सार्वजनिक यातायातका रूटमा लागू हुनेछ यसबाहेक तोकिएको भाडामा डिलक्स र सुपर डिलक्स सुविधा लिएका सार्वजनिक सवारी साधनले २० प्रतिशतसम्म थप भाडा लिन सक्ने छन् । विभागका अनुसार यसका लागि ब्लू बुकमा डिलक्स सुविधा लिएको उल्लेख हुनुपर्ने प्रावधान राखिएको छ ।
भाडा समायोजन भएपछि काठमाडौं–तानसेनका लागि नर्मल भाडादर ९ सय ३६ कायम भएको छ । २ सय ९८ किमी दुरी रहेको यहाँ डिलक्सको लागि १ हजार १ सय २३ र सुुपर डिलक्सका लागि १ हजार ३ सय ४७ भाडादर कायम गरिएको छ । यो रुटमा यस अघि ९ सय ६ रुपैयाँ रहेको थियो । यस्तै काठमाडौं–हार्थोक (पाल्पा)का लागि नर्मल भाडादर ९ सय ७९ कायम भएको छ । ३ सय ९ किमी दुुरी रहेको यहाँ डिलक्सको लागि १ हजार १ सय २३ र सुुपर डिलक्सका लागि १ हजार ४ सय ९ भाडादर कायम गरिएको छ । यो रुटमा यस अघि ९ सय ४८ रुपैयाँ रहेको थियो । यस्तै कलैया–तानसेन–पाल्पाका लागि नर्मल भाडादर ७ सय ५३ कायम भएको छ । २ सय ५१ किमी दुरी रहेको यहाँ डिलक्सको लागि ९ सय ३ र सुुपर डिलक्सका लागि १ हजार ८४ भाडादर कायम गरिएको छ । यो रुटमा यस अघि ७ सय २९ रुपैयाँ रहेको थियो । यस्तै काठमाडौं–तम्घासको नर्मल भाडादर एक हजार दुुई सय ७८ कायम गरिएको छ । ३ सय ७६ किमी दुरी रहेको यहाँ डिलक्सको लागि १ हजार ५ सय ३४ र सुुपर डिलक्सका लागि १ हजार ८ सय ४१ भाडादर कायम गरिएको छ । यो रुटमा यस अघि १ हजार २ सय ३८ रुपैयाँ रहेको थियो ।
काठमाडौं–पोखरा–तानसेन, कपिलवस्तु– नारायणगढ एकतर्फी नर्मल भाडादर एक हजार ८ सय २ कायम भएको छ । ५ सय ५२ किमी दुुरी रहेको यहाँ डिलक्सको लागि २ हजार १ सय ६२ र सुुपर डिलक्सका लागि २ हजार ५ सय ९५ भाडादर कायम गरिएको छ । यो रुटमा यस अघि १ हजार ७ सय ४४ रुपैयाँ रहेको थियो । यस्तै काठमाडौं–बुटवलका लागि नर्मल भाडादर ७ सय ९० भाडा कायम गरिएको छ । २ सय ५९ किमी दुुरी रहेको यहाँ डिलक्सको लागि ९ सय ४७ र सुुपर डिलक्सका लागि १ हजार १ सय ३७ भाडादर कायम गरिएको छ । यो रुटमा यस अघि यस अघि ७ सय ६४ रहेको थियो । यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा बजार अध्ययन गरेर श्रमिकहरूको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्राककट्टी र सञ्चालन मुनाफालगायतका मुख्य सूचकहरूमा भएको मूल्यवृद्धिलाई ध्यानमा राख्दै नयाँ भाडादर लागू गरिएको बताएको छ । २०७२ को संविधानले सार्वजनिक यातायात व्यवस्था ऐन २०४९को अधिकार प्रयोग गर्दै दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा नयाँ भाडादर २०८१ पुस २२ लागू हुने गरी समायोजन भएको हो ।