पाल्पा, दलदल सिम, घोल, ताल, तलाउ, पोखरी, दह, कुण्ड, नदीनाला, बाढी क्षेत्र, जलाशय, सिञ्चित खेत, जल क्षेत्रको घाँसे मैदान जस्ता सिमसारमा आश्रित चराका प्रजातिलाई जलपन्छी भनिन्छ । प्रजनन, चरन र विचरणका लागि यी चरालाई जलीय पर्यावरण आवश्यक पर्छ । यिनिहरुको संख्या र अवस्थिति पत्ता लगाउन गणना गर्ने गरिन्छ ।
हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपन्छीको गणना गर्ने गरिएको छ । स्वयंसेवी, पन्छी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय र संरक्षण संघसंस्थाको सहभागितामा सन् १९८७ देखि हरेक वर्ष गणनाको कार्य गर्ने गरिएो हो । यस वर्ष शनिबारदेखि देशैभर गणना सुुरु भएको छ । जलपन्छीको वितरण र अवस्था पत्ता लगाउन, संख्या अद्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी गराई जनचेतना अभिवृद्धिका लागि जलपन्छीको अनुगमन र गणना गर्ने गरिए पनि जलपन्छीको अवस्था लोपोन्मुख अवस्थामा छ । मानवीय क्रियाकलापसँगै वासस्थान विनाश हुने क्रमले तालको शोभा बढाउने जलपन्छीहरू लोप हुँदै गएका हुन् । सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावट, ढल तथा मेलापर्वका सामान विसर्जन, बाह्य तथा मिचाहा प्रजातिको संक्रमण, भू–क्षय र वरपरबाट बगेर आउने भलसँगै ढुङ्गा, बालुवा, पाँगो माटो थुप्रिनुका साथै पछिल्ला दिनमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, पर्यटन प्रवद्र्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोज जस्ता पर्यावरण प्रतिकूल क्रियाकलापले सिमसारको गुणस्तर र आयु छोट्याइदिएको छ । यसको प्रत्यक्ष असर जलपन्छीमा परेको छ । संरक्षण क्षेत्र बाहिरका सिमसार र वरपरको क्षेत्र तीव्र मानवीय दोहनका कारण जोखिममा परेका छन् । हरेक वर्ष जलपन्छीको गणना गर्न तत्परता देखाइए पनि तिनीहरुको संरक्षणमा ध्यान दिइएको छैन् । नेपालमा हालसम्म अभिलेख भएका ४१ प्रजातिका विश्वकै दुर्लभ चरामध्ये १२ प्रजाति त पानीचरा नै पर्छन् । नेपालमा संकटापन्न अवस्थामा रहेका १ सय ६८ प्रजातिका चरामध्ये एक चौथाइ हिस्सा पानीचराले ओगटेका छन् । विभिन्न सिमसार क्षेत्र र पर्यावरणको सूचक रूपमा हेरिने यी पानीचराको संख्यामा आएको उल्लेख्य गिरावटले नेपालको बिग्रँदो वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतको ह्रासलाई जनाउँछ । गणना गरिए पनि तिनीहरुको संरक्षणमा चासो नदिदा दिनहुँजसो जलपन्छीहरु लोप हुँदै जान थालेको अध्यनकर्ताहरु बताउँछन् । तालहरूमा फैलिएको दुर्गन्ध र सिमसार क्षेत्रको विनाशले जलपन्छी बर्सेनि घट्दै गएको लामो समयदेखि चराको अध्ययनमा जुटेका विष्णुुु अधिकारीले बताए । उनले भने, ‘वासस्थान विनाश नै चरा घट्नुको मुख्य कारण हो ।’ उनका अनुसार केही वर्षअघिसम्म सयौंको संख्यामा पाएका जलपन्छीहरू पछिल्लो समय ह्वात्तै घटेका छन् । रुपन्देहीको गैडहवा ताल, गजेडी ताल, कपिलवस्तुको जगदीशपुर ताल, सुनसरीको बर्जु तालमा पछिल्ला वर्षहरुमा जलपंक्षीको संख्यामा निकै कमी आएको छ ।
यस वर्ष पुस २० गतेदेखि माघ ६ गतेसम्म जलपंछीको संख्या, प्रजाती, बासस्थानको अवस्था बारे जानकारी लिनका लागि गणनाकार्य सुुरु भएको छ । यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलन कार्य हुनेछ ।