Shittalpati
सिद्धबाबा सुरुङमार्ग : तीनवटै बाइपासको ‘ब्रेक थ्रु’

पाल्पा, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको तीनवटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । कुल तीन वटा वाइपास रहेकोमा तीनवटैको ‘ब्रेक थ्रु’ भएको हो ।

भदौ २६ गते तेस्रो, असोज ४ गते पहिलो र पौष ७ गते दोस्रो बाइपासको ‘ब्रेक थ्रु’ भएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ । १ सय ५१ मिटर लम्बाइ रहेको पहिलो, १ सय ३० मिटर लम्बाइ भएको तेस्रो र १ सय ६१ मिटर लम्बाइ रहेको दोस्रो बाइपासको सुरुङ छिचोलिएर सकिएको हो ।

अहिलेसम्म भौतिक प्रगति भने ३९ प्रतिशत छ । मुुख्य सुुरुङको ब्रेक थु्र भने यही पौषभित्र गर्ने गरी काम धमाधम भएको आयोजनाकी इन्जिनीयर सविता ज्ञवालीले बताईन् । उनका अनुसार मुख्य टनेलको ६६ मिटर मात्रै खन्न बाँकी रहेको छ । अहिलेसम्म १ हजार २३ मिटर सुरुङ खनिएको उनले एनजेडीलाई जानकारी दिइन् । इन्जिनीयर  ज्ञवालीले कुनै समस्या आइनपरे पौष महिनाभित्रै ‘ब्रेक थ्रु’ गर्न समस्या नहुने बताइन् । यहाँ १ हजार १ सय २६ मिटर मुख्य सुरुङको लम्बाइ रहेको छ । तीनवटा क्रस प्यासेजहरूको कुल दूरी ४ सय ४२ मिटर छ । सबै क्रस प्यासेजको ‘ब्रेक थ्रु’ भइसकेको हो । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५ सय ६७ मिटर छ । यो योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम गरिने आयोजनाले जनाएको छ ।

आयोजनाले भित्र काम भइरहेकाले बाहिरको काम गरेको छैन । मुख्य सुरुङको ब्रेक थ्रु पछि ढलान र सडक बनाउन सुरु गरिनेछ । सुरुङबाहिरको पहाडमा पहिरो बग्न नदिने गरी काम भइरहेको छ । बाटो फराकिलो पार्ने, सुरुङमार्गभन्दा दक्षिणतर्फको सडकलाई सुरक्षित बनाउन रक सेड र सडकको डिजाइनको काम गर्ने, सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको  काम अब छिट्टै हुने इन्जिनीयर  ज्ञवालीले बताइन् ।

पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । मुख्य टनेलको भागसम्म नपुगेको र केही लामो भएकाले दोस्रो बाइपास ब्रेक थ्रु हुन केही समय लागेको थियो । मुख्य सुरुङको दुवैतर्फबाट दैनिक विस्फोटसहित खन्ने काम जारी छ । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको हो । यसको समयावधि ०८३ फागुनसम्म छ । गत साउन पहिलो साता झरेको पहिरोले सुरुङमार्गको ‘टनेल पोर्टल’ नै पुरिएपछि तीनमहिना बढी समय रोकिएको थियो । सुरुङमार्ग निमार्णका लागि पटक–पटक सडक बन्द गरेर काम हुँदै आएको छ । ठूलो क्षति व्यहोर्नु परेको र त्रासदीमा यात्रा गर्नेुपर्ने बाध्यतामा रहेका यात्रुुहरू सुरुङमार्गको काम अन्तिमचरणमा पुुग्न थालेपछि वर्षौदेखि सुरुङ बन्ने सपना पुरा हुनेमा ढुक्क भएका छन् । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पु¥याउने गर्दछ । योजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुबैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् आयोजनाको छेउमा निस्किने छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update